४ कार्तिक २०८३, मंगलबार | Tue Oct 20 2026

सलमान खानको फिल्ममा खेल्दै सुनिल थापा



काठमाडौं ।
अभिनेता सुनील थापा सलमान खान प्रोडक्सनको फिल्म ‘क्वाथा’ मा देखिने भएका छन्। वीरगन्जमा हुने ‘स्वर्णिम नेपाली फिल्म महोत्सव’ मा विरगञ्ज पुगेका थापाले आफू छिट्टै ‘क्वाथा’ मा देखिने बताएका हुन् । ‘प्रोडक्सन टिमबाट प्रस्ताव आएको हो, मेरो समय नमिलेकाले तत्काललाई साइन मात्र नगरेको हुँ,’ थापाले भने, ‘३ वटा नेपाली फिल्मको छायांकन बाँकी रहेकाले जनवरीदेखि मात्र म फुर्सदिलो हुन्छु, त्यसपछि क्वाथाको छायांकनमा व्यस्त हुन्छु।’ ‘क्वाथा’ बाटै बलिउड अभिनेत्री क्याटरिना क्याफकी बहिनी इसाबेल क्याफले डेब्यु गर्न लागेकी हुनाले पनि यो फिल्म तीब्र प्रतीक्षित छ । आयुष शर्मा मुख्य भूमिकामा रहने यो फिल्मको निर्देशन करन भने भुटानीले गर्दै छन्। भारतको मणिपुर राज्यको कथा रहेको ‘क्वाथा’ मा थापा त्यहाँको मुखियाको भूमिका रहने छन् । झन्डै ३ सय नेपाली फिल्म खेलेका यी अभिनेता थापा सन् १९६४ मा चेतन आनन्दको चर्चित फिल्म ‘साहिब बहादुर’ बाट बलिउडमा प्रवेश गरेका हुन्। त्यसपछि तेलगु फिल्म ‘काश्मिर कादली’ मा अभिनय गरेका उनले त्यसलगत्तै बलिउडको अर्को अत्यन्त सफल फिल्म ‘एक दुजेके लिए’ मा अभिनयको अवसर पाए, जसले उनलाई बलिउडमा राम्रो नाम र पहिचान पनि दियो।

प्रकाशित मिति : १७ कार्तिक २०७६ आइतबार ००:००  २ : ३५ बजे