८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

साउन महिना देखिनै तीजको रौनक बुटवल बजारमा छायो



बुटवल, २१ साउन ।
साउन महिना देखिनै तीजको रौनकले बुटवल बजारमा छाएको छ । बुटवलका क्लबहरु, आमासमूह, संघसस्था र विद्यालयले महिनादिन अघिबाट तीजका कार्यक्रम गर्न शुरु गरेका हुन्् ।
गाउंबाट सहर पसेका र पहाडबाट तराई झरेका आफ्ना चेलीबेटीलाई दर खुवाउन भन्दै विभिन्न टोल समाज, सम्पर्क समाज लगायतले बुटवलमा तीज मिलन, दर खाने कार्यक्रम र प्रतियोगिताहरु आयोजना गर्ने गरेका छन् ।
यस्ता कार्यक्रमहरु किशोर किशोरीलागि मनोरञ्जन गर्ने र आफ्नो प्रतिभा देखाउने ठाउं बनेका छन् । शनिबार बुटवलमा देवीपुर सेवा समाजले तीजको दर खाने कार्यक्रम आयोजना गर्यो ।
अर्घाखाँचीको साविकको केरुङ्गा वडा नं १ बाट कामको शिलशिलामा, पढ्न बसेका, बसाइसराई गरि बसेका केरुङ्गेलीहरुले खोलेको संस्थाले रुपन्देहीमा बसोबास गर्दै आएका चेलीहरुलाई तीजको दर खुवाई पुराना तीजको गानामा नचाएका थिए ।
तीज नयाँ लुगा लगाउन पाइने, मिठो खान पाइने, गाउन र नाच्न पाइने मनोरम पर्व हो । विहे भएर गएका आफन्त माइतीघरमा आउने, भेटघाट गर्ने र सुखदुख साट्ने पर्व पनि हो ।
सम्पर्क समाजहरुले गर्ने यस्ता कार्यक्रमले गाँउबाट ताडा भएकाहरुसँग आफ्नोपन बढाउन सहयोग मिलेको केरुङ्गेली संपर्क समाजमा अध्यक्ष खिमानन्द पाण्डेले बताउनुभयो । पहिले पहिले एक दिन मनाउने तीज धेरै दिन मनाउन थालिएको छ । धेरै दिन तीजको तयारी गर्नुपर्दा अभिभावकको आर्थिक भार पनि बढेको छ ।
देखासीकीकालागि महंगा महंगा लुगा र गरगहना लाउदा धनी गरीबबीचको फरक बढेको छ । यसैले तीजलाई भड्कीलो भन्दा परम्परागत र मौलीक रुपले नै मनाउनुपर्ने नयापुस्ताको सुझाव छ ।

प्रकाशित मिति : २१ श्रावण २०७४ शनिबार ००:००  २ : ३६ बजे