१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

नागरिकता बनाउने दुई दिने घुम्ती शिबिर सकियो, ४९२ जनाले नागरिकता पाए



बिष्णु कुमार आले, अर्घाखाँची, २४ साउन ।
अर्घाखाँचीको सितगंगा नगरपालीकाको कार्यालय ठाडामा नागरिकता बनाउने एकिकृत घुम्ती टोली आएपछी दुर्गमभेगका नागरिकले सेवा पाएका छन् । यहि साउन २२ र २३ गते दुई दिन सम्म संचालन भएको घुम्ती शिबिर बाट ४९२ जनाले नेपाली नागरिकताको प्रमाणपत्र पाएका छन् भने ७६ जनाले जेष्ठ नागरिक परिचयपत्र र ३६ जनाले अपाङ्गता परिचयपत्र पाएका छन् ।
नगरपालीकाको निकै दुर्गम क्षेत्र सिद्घाराको दोबाटा, बठेनी, सिमलपानीको बिक्रमसोता, पावरा, करेचुली, जलुकेको दमारबेसी, नौमुरे, सियाँला, लाहापे, भालुवाङ्ग आसपासबाट झन्डै दुई दिन १६, १७ घण्टा पैतल हिडेर नागरिकता बनाउन आएका थिए ।
सिमलपानी, जलुके, जुकेना, सुर्वणखाल, सितापुर, ठाडाका कुना कुना बाट आएका सर्वसाधारणले सेवा पाएका छन् । सेवा ग्राहीलाई सहजहोस भन्ने उदेश्यले दुर्गमका वडा अध्यक्षहरु नगरपालीकाको कार्यालयमा बसेर नागरिकलाई सेवा प्रदान गरेका थिए । लामो समय पछी संचालन भएको दुई दिने सिबिरमा सेवाग्राहीको निकै भिड लागेको थियो ।
सिबिरमा नेपाली नागरिकताको प्रमाण पत्र पाएपछी मतदाता नामावलीमा नाम दर्ता गर्ने नागरिकहरुको पनि बाक्लो भिड बढेको थियो । नागरिकता बनाउन टाढा टाढाका नागरिक दुई दिनको पैतल बाटो हिडेर अघिल्लो दिनै ठाडामा बासा बस्न आएका थिए ।
त्यस्तै साउन २४ गते भुमिकास्थान नगरपालीकाको कार्यालयमा, २५ गते मालारानी गाँउपालीकाको कार्यालयमा, २६ गते पाणिनी गाँउपालीकाको कार्यालय र २७ गते छत्रदेब गाँउपालीकाको कार्यालयमा एकिकृत घुम्ती शिबिर संचालन हुने भएको छ । शिबिरमा पहिलो नयाँ नेपाली नागरिकताको प्रमाणपत्र, जेष्ठ नागरिक परिचयपत्र र अपाङ्गता परिचयपत्र मात्र बितरण गरिने जनाईएको छ ।

 

प्रकाशित मिति : २४ श्रावण २०७४ मंगलबार ००:००  १२ : ३६ बजे