१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

चुनावमा अन्र्तघात गर्ने विरुद्ध एमाले अर्घाखाँची कठोर, अञ्चल नेता सहित १४ जना निष्काशन



वीरेन्द्र केसी, अर्घाखाँची, २९ साउन ।
एमालेले आफ्ना उम्मेदवारलाई स्थानीय चुनावमा हराउन भूमिका खेल्ने चार जिल्ला नेता सहित ११ जनालाई कारवाही गरेको छ । एमाले जिल्ला अध्यक्ष चेतनारायण आचार्यको अध्यक्षतामा बसेको बैठकले साधारण सदस्यता समेत नरहने गरी पार्टीबाट निष्कासन गरेको हो ।

पार्टिबाट कारवाहीमा पर्नेमा पूर्व लुम्बिनी अञ्चल कमिटी सदस्य पीताम्बर सारु, जिल्ला सचिवालय सदस्य सिद्धिप्रसाद भुसाल, जिल्ला सदस्य शिवकला विक र क्षेत्रीय कमिटी सदस्य लेखनाथ भुसाल रहनुभएको छ । कार्रवाहीमा परेका सात जना पार्टी सदस्य रहनुभएको छ । एमालेको वडा, नगर र पालिका कमिटीले कार्रवाहीका लागि जिल्ला कमिटीलाई सिफारिस गरेको आधारमा बैठकले सदर गर्दै सबै जिम्मेवारीबाट कार्रवाही गर्दै पार्टीबाट निश्कासन गरेको एमाले अर्घाखाँचीले जनाएको छ ।

एमालेका आधिकारीक उम्मेदवारलाई हराउन भूमिका खेलेर विपक्षी पार्टीका उम्मेदवालाई भोट मागेको प्रमाणका आधारमा सिद्धिप्रसाद र लेखनाथ कारवाहीमा पर्नुभएको हो । एमाले स्रोतका अनुसार सिद्धिप्रसादले आफ्नो पाटीबाट सन्धिखर्क नगरपालिकाका प्रमुखका उम्मेदवार कृष्णप्रसाद श्रेष्ठलाई हराउन आफु नजिकका कार्यकर्ता र सर्वसाधारणलाई कांग्रेसबाट मेयरका उम्मेदवार कमलप्रसाद भुसाललाई भोट मागेकोले कारवाही गरिएको हो । श्रेष्ठ मेयरमा पराजित हुनुभएको थियो ।

सबैलाई पार्टी साधारण सदस्यता समेत नरहने गरी कार्रवाही गरिएको छ । जिल्ला नेता मणि पौडेल सहित अन्य नेता तथा कार्यकार्ताको छानविन भैरहेको एमालेले जनाएको छ । बैठकले थप चुनावी समीक्षा गर्ने, पार्टी सदस्यता नविकरण गर्ने र संगठन विस्तार गर्ने लगायतका निर्णय पनि गरेको छ ।

प्रकाशित मिति : २९ श्रावण २०७४ आइतबार ००:००  २ : ३७ बजे