१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

भरतपुरमा हर्न बजाए अब कडा सजाए हुने



चितवन, १ भदौ ।
चितवनको भरतपुर महानगरपालिकाको रिङरोड क्षेत्र र त्यसका भित्री सडकहरुमा विहिबारबाट हर्न बजाउन निषेध गरिएको छ । केन्द्रीय बस टर्मिनल भरतपुर, चौंबीसकोठी, नारायणगढको लायन्सचोक, शहिदचोक, पूल्चोक, नारायणगढ बसपार्कलगायत राजमार्ग क्षेत्रमा हर्न बजाउन बिहिबारबाट निषेध गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, चितवनले जनाएको छ ।
आकस्मिक बाहेक अन्य अवस्थामा हर्न बजाउन निषेध गरिएको हो । विभिन्न स्थानमा हर्न निषेधित क्षेत्र लेखिएका सूचनामूलक बोर्डहरु टाँगिएका छन् । हर्न निषेधित क्षेत्रका चोकचोकमा ट्राफिक प्रहरी बसेर चेक गरिरहेकोले नियम उल्लङ्घन गर्नेलाई कार्रबाहि हुने ट्राफिक प्रहरी प्रमुख सन्तोष पन्तले बताउनुभयो ।
ट्राफिक प्रहरी प्रमुख पन्तले काठमाडौं र पोखरामा ‘नो हर्न’ लागू भइसकेको अवस्थामा मेडिकल र शैक्षिक केन्द्रको रुपमा रहेको भरतपुरमा पनि लागू गरिएको बताउनुभयो ।
नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघको केन्द्रिय उपाध्यक्ष रामप्रसाद सुवेदीले ट्राफिक प्रहरी र भरतपुर महानगरपालिकाले गर्न लागेको हर्न निषेधित क्षेत्र घोषणा कार्यक्रमलाई यातायातकर्मीहरुले पनि पूर्ण सहयोग गर्ने बताउनुभयो । विभिन्न स्थानमा छाडा छाडिने पुश चौपाया र जथाभावी बाटो काट्ने क्रमलाई पनि रोक्न सम्वन्धित निकायले पहल गर्नुपर्ने सुवेदीको सुझाव दिनुभयो ।
निषेधित क्षेत्रमा हर्न बजाउनेलाई पहिलोपटक पाँचसय र दोस्रोपटक एकहजार जरिवाना गर्ने कानुनी व्यवस्था छ ।

प्रकाशित मिति : १ भाद्र २०७४ बिहिबार ००:००  ४ : ३१ बजे