१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

बाढीका कारण दाङमा साढे २० करोडको क्षति, ७ को मृत्यु, एक वेपत्ता



५ भदौ, दाङ ।
बाढी र डुवानका कारण दाङमा झण्डै साढे २० करोड रुपैयाँको क्षति भएको छ । जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङका अनुसार समुदाय तथा व्यक्तिगत सम्पत्तीको अनुमानित क्षति बिबरण अनुसार २० करोड ४५ लाख ८० हजार ३ सय ५० रुपैयाँ बराबरको क्षति भएको छ ।

साउन २७ गते रातिदेखि चार दिनसम्म परेको अबिरल बर्षापछिको बाढी र डुवानले जिल्लाको घोराही, तुलसीपुर, लमही, दंगिशरण, बबई र राजपुरमा जनधनको क्षति भएको हो ।

बाढीले ३ सय ४५ विगाह खेतियोग्य जमिन कटान गर्दा ८ करोड ११ लाख रुपैयाँको क्षति भएको अनुमान गरिएको छ । त्यसैगरी, १० हजार २ सय ९० क्वीन्टल अन्नबाली बगाउँदा ६ करोड १७ लाख ४० हजार बराबरको नोक्सानी भएको केन्द्रको तथ्यांकमा उल्लेख छ ।

यस्तै ५ वटा सडक तथा पुल भत्काउँदा ४ करोड ८५ लाख ६३ हजार ३ सय ५० रुपैयाँ, ४ वटा बिद्यालयमा क्षति पुग्दा ३६ लाख ५० हजार, पाँच वटा माछा पोखरी बगाउदा ३४ लाख, ५ वटा कुखुराको र्फम बगाउँदा २५ लाख २० हजार रुपैयाँको नोक्सानी भएको अनुमान गरिएको छ ।
त्यस्तै बाढी र डुवानबाट ३४ सय ९१ पशुचौपाया मर्दा र घाईते हुँदा ४१ लाख १६ हजार ६ सय रुपैयाँ बराबरको नोक्सानी भएको पशु सेवा कार्यालयले जनाएको छ ।

यसैगरी टेलिफोनका तारमा असर पुग्दा ११ लाख ८५ हजार, १८ स्थानमा बिद्युतमा क्षति पुग्दा २ लाख ७० हजार, पसलमा असर पुग्दा २ लाख ७० हजार, सामुदायिक स्रोत केन्द्र तथा भवनहरुमा बाढी पस्दा २ लाख ५० हजार र एउटा स्वास्थ्य चौकीमा असर गर्दा ८० हजार रुपैयाँको नोक्सानी भएको प्रारम्भिक विवरण संकलन भएको केन्द्रका सूचना अधिकृत खिलानाथ दाहालले जानकारी दिनुभयो ।

बाढी र डुवानले र्पुयाएको क्षतिको एकीन बिबरण संकलनका लागि स्वयमसेवकहरु परिचालन भएको प्रशासनले जनाएको छ । पीडित बनेकाहरुको घरधुरी सर्बेक्षणका लागि ५० जना स्वयम सेवकहरुलाई परिचालन गरिएको र केही दिनमा पूर्ण बिबरणहरु सार्वजनिक गर्ने केन्द्रको भनाइ छ ।
बाढी र डुवानका कारण दाङका झण्डै ४०० घर पूर्णरुपमा भत्किएका छन् । जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङका अनुसार बाढी र डुवानका कारण जिल्लामा ३ सय ९१ घर पूर्णरुपमा भत्किएका छन् ।

घर भत्किएपछि ३९१ घरधुरीका १ हजार ८५८ जना विस्थापित भएका छन् । विस्थापितहरु त्रिपाल, आफन्त र सामुदायिक भवनहरुमा आश्रय लिएर बसेका छ । बाढी र डुवानले ८ सय ४४ घरधुरीका ४ हजार ७ जना प्रभावित भएको केन्द्रका सुचना अधिकृत दाहालले जानकारी दिनुभयो ।

बाढी र खोलाले बगाउँदा अहिलेसम्म ७ जनाको मृत्यु भएको, एक जना बेपत्ता भएको र दुई जना घाइते भएको सरकारी तथ्यांकमा उल्लेख छ ।

बाढी र डुवानबाट प्रभावित भएकाहरुलाई सरकारी एवं गैरसरकारी क्षेत्रबाट राहात बितरणको क्रम जारी छ ।

प्रकाशित मिति : ५ भाद्र २०७४ सोमबार ००:००  २ : ०९ बजे