१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

दुई जिल्लाबाट मतदाता नामावलीमा नाम दर्ता गराएपछि अन्यौलमा निर्वाचन कार्यालयहरु



भुवन पाण्डे ५ भैरहवा ।
स्थानीय तहको निर्वाचनपछि रुपन्देहीमा ६३ हजार पाँच सय ४४ बढी नयाँ मतदाता थपिएका छन् । जसमा ३२ हजार सात सय ६३ जना पुरुष, ३३ हजार ६ सय ३२ जना महिला र एक जना तेस्रो लिङ्गी छन् ।
१६ स्थानीय तह रहेको रुपन्देहीमा यस अघि चार लाख ६२ हजार पाँच सय ४९ मतदाता रहेका थिए । अन्य जिल्लाका दुई हजार आठ सय ५२ मतदाताले जिल्ला निर्वाचन कार्यालयबाट नामावली दर्ता गराएका छन् ।
उच्च बसाई सराई रहेको रुपन्देहीमा अन्य जिल्लाहरुबाट नामावली सार्ने मतदाताहरु उल्लेख्य रहेको कार्यालयले जनाएको छ । अधिकांस मतदाताले अरु जिल्लामा नामावली हुँदा हुदैे पुन नयाँ नामावली दर्ता गराएका छन् ।
त्यस्ता मतदाताहरुको नाम निर्वाचन आयोगमा पठाउने र उतैबाट निर्णय हुने कार्यालयका प्रमुख हुमनाथ गौतमले बताउनुभयो ।
बढी मतदाता नामवली दर्ता हुने जिल्लामा रुपन्देही मुलुकको चौथो स्थानमा रहेको छ । सबैभन्दा बढी काठमाण्डौँ दोस्रोमा मोरङ र तेस्रोमा झापा जिल्ला रहेका छन् ।
त्यस्तै नवलपरासी जिल्लाबाट ६३ हजार पाँच सय ४९ जनाले फोटोसहितको नयाँ मतदाता नामावली दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय नवलपरासीका प्रमुख अयोध्या प्रसाद भण्डारीले जानकारी दिनुभयो । कार्यालयले अहिले नामावली रुजु गर्ने र अन्य जिल्लाका मतदाता छुट्टाई आयोगमा पठाउने तयारी थालेको छ ।
गत साउन १ गतेदेखि शुरु भएको फोटोसहितको नयाँ मतदाता नामावली संकलन कार्यक्रम भदौ ३ गतेसम्म चलेको थियो ।
मतदाता नामावली पुनः संकलन गर्न निर्वाचन आयोगले जिल्ला निर्वाचन कार्यालयलाई निर्देशन दिँदा जिल्ला निर्वाचन कार्यालयमा मात्रै संकलन थालिए पनि मतदाताले स्थानीय तहमा संकलन गर्न माग राखेपछि सबै स्थानीय तहमा नामावली संकलन थालिएको थियो ।
आयोगले तोकेको समय सकिए पनि जिल्ला निर्वाचन कार्यालयमा नामावली दर्ता र अध्यावधीक गर्न छुटेको भन्दै उल्लेख्य संख्यामा आउने गरेका छन् ।

प्रकाशित मिति : ५ भाद्र २०७४ सोमबार ००:००  २ : १२ बजे