६ बैशाख २०८१, बिहिबार | Fri Apr 19 2024

त्रिवि परीक्षा नियन्त्रक विहीन



काठमाडौँ, ८ भदौ ।
त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयमा परीक्षा नियन्त्रक नहुँदा कामकारबाही प्रभावित भएको छ ।
विगत तीन दिनदेखि त्रिविमा परीक्षा नियन्त्रक नहुँदा विद्यार्थीको ट्रान्सक्रिप्ट, मूल सर्टि्फिकेटजस्ता महत्वपूर्ण कागजात बनेका छैनन् ।
कार्यालयका सहनियन्त्रक पशुपति अधिकारीले तीन दिनदेखि परीक्षा नियन्त्रक नहुँदा काम कारबाही प्रभावित भएको बताउनुभयो ।
“नियन्त्रक नहुँदा अहिले विद्यार्थीको ट्रान्सक्रिप्ट, मूल सर्टि्फिकेट जस्ता काम कारबाही रोकिएको छ”, उहाँले भन्नुभयो, “अहिले ती कागजातका लागि आवेदन लिने काममात्र भएको छ ।”
त्रिविले पहिले आवेदन दिएका विद्यार्थीका ट्रान्सक्रिप्ट मात्र उपलब्ध गराउँदै आएको छ । उहाँका अनुसार, आर्थिक कारोबार, उत्तर पुस्तिकाका परीक्षण गर्ने परीक्षकको पनि पारिश्रमिक उपलब्ध गराउने लगायतका काम पनि हुन सकेको छैन ।
यसअघिका परीक्षा नियन्त्रक पुष्पराज जोशीको पदावधि यही भदौ ४ गतेदेखि सकिएपछि त्रिवि परीक्षा नियन्त्रक विहीन बन्न पुगेको छ ।
त्रिवि कार्यकारी परिषद्ले तीन महिनाका लागि विशेष अधिकार प्रयोग गरी नियुक्त गरिएका जोशीको कार्यकाल सकिएपछि नियुक्ति अझै हुन सकेको छैन । रासस

प्रकाशित मिति : ८ भाद्र २०७४ बिहिबार ००:००  १० : ४४ बजे