१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

एमाले शिर्ष नेताहरु मधेसमा सक्रिय, चुनाव जित्ने दाउ



काठमाडौं, १३ भदौ ।
स्थानीय तहको चुनावी प्रचारमा एमाले शीर्ष र स्थायी समितिका नेताहरू प्रदेश नं. २ मा खटिएका छन् । कार्यवाहक अध्यक्ष वामदेव गौतम, वरिष्ठ नेता माधवकुमार नेपालसहितका नेताहरू तीन दिनदेखि चुनावी प्रचारमा खटिएका छन् ।
गौतम उम्मेदवारको नाम टुंग्याउन बाराको सिमरा पुगेका छन् भने नेपाल पर्साको वीरगन्ज महानगरपालिका र विभिन्न गाउँपालिकाद्वारा आयोजित चुनावी प्रचार र घरदैलो कार्यक्रममा व्यस्त छन् ।
बारामा गौतमसँगै उपमहासचिव विष्णु पौडेल, पोलिटब्युरो सदस्य राजेन्द्र पाण्डे पनि खटिएका छन् भने सचिव गोकर्ण विष्ट जनकपुर पुगेका छन् । त्यस्तै, पर्सामै स्थायी समिति सदस्य शंकर पोखरेल कार्यकर्ता प्रशिक्षण र चुनावी प्रचारका कार्यक्रममा सहभागी भइरहेका छन् ।
‘उपलब्ध नेताहरू अहिले प्रदेश नं. २ मा सक्रिय हुनुहुन्छ,’ केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले भने, ‘अध्यक्ष र महासचिव विदेशबाट फर्किएपछि तराईमै केन्द्रित हुनुहुन्छ ।’
स्थायी समितिले पदाधिकारीलाई जिल्ला नै तोकेर चुनावका लागि यसअघि नै खटाइसकेको छ । जसअनुसार महासचिव पोखरेल, धनुषा, उपमहासचिवद्वय पौडेल पर्सा, अर्का उपमहासचिव घनश्याम भुसाल रौतहट, सचिवहरू प्रदीप ज्ञवाली सिरहा, योगेश भट्टराई धनुषा, पृथ्वीसुब्बा गुरुङ महोत्तरी र भीम आचार्य सप्तरी खटिइसकेका छन् ।
एमालेले सोमबार अबेरसम्म प्रदेश नं. २ का थप पाँच जिल्लाका स्थानीय तहको उम्मेदवार टुंगो लगाएको छ । सप्तरी, सिरहा, बारा, पर्सा र सर्लाहीका तहहरूको उम्मेदवार टुंगो लागेको प्रदेश संयोजक सत्यनारायण मण्डलले बताए ।
धनुषा, रौतहट र महोत्तरी जिल्लाका उम्मेदवारको नाम पनि रातभर टुंगो लगाएर मंगलबार सार्वजनिक गर्ने उनले जनाए । ‘हामी बैठकमै छौँ । मंगलबार सबै नाम बाहिर आउँछ,’ मण्डलले भने, ‘एकाध ठाउँमा मात्रै उम्मेदवारको नाम फेरबदल हुनेछ ।’
प्रदेश नं. २ का एक सय ३६ स्थानीय तहको उम्मेदवारको नाम टुंगो लगाउन दुई दिनदेखि एमालेको संयन्त्र बैठक बसिरहेको छ । एमालेले यसअघि नै वीरगन्ज महानगरपालिकाको मेयरमा बसुरुद्दिन अन्सारी र उपमेयरमा सोफिया आचार्यलाई उठाउने निर्णय गरिसकेको छ ।
कलैया उपहानगरपालिकाको मेयरमा विनोद शाह र जितपुर उपमहानगरपालिकामा डा. कृष्ण पौडेल, लाहान नगरपालिकामा मुन्नीलाल शाहलाई उठाउने तयारी गरिरहेको स्रोतले जनाएको छ । जनकपुर उपमहानगरपालिकाको उम्मेदवार बारे भने अझै टुंगो लागिसकेको छैन ।
आजको नयाँ पत्रिकामा खवर छ ।

 

प्रकाशित मिति : १३ भाद्र २०७४ मंगलबार ००:००  १ : ५३ बजे