१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

राजपा कार्यकर्ताद्वारा एमाले कार्यकर्ता माथि ढुंगा प्रहार



जनकपुर, १३ भदौ ।
प्रदेश नम्बर २ को अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न जनकपुर पुगेका एमाले बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाललाई राजपा कार्यकर्ताले अवरोध प्रयास गरेका छन् ।
नेपाललाई रामानन्द चोकमा भेला भएका राजपा कार्यकर्ताले कालोझण्डा देखाउँदै ढुंगा प्रहार गरेका थिए । तर आठ दश जनाको संख्यामा रहेका उनीहरुलाई प्रहरीले तितरबितर पारेको थियो । त्यसपछि फेरि राजपा कार्यकर्ताले एमालेको कार्यकर्ता भेलामै ढुंगा प्रहार गरेका थिए ।
एमालेलाई मधेस बिरोधी भन्दै राजपा कार्यकर्ताले कालोझण्डा देखाएर नेपालको जनकपुर भ्रमणको बिरोध गरेका हुन् । एमालेको कार्यकर्ता भेला पिडारी चोकमा चलिरहँदा कार्यक्रमस्थल बाहिर राजपाका केही कार्यकर्ताले कालोझण्डा देखाएका थिए । एमालेलाई मधेसबाट बढार्ने भन्दै उनीहरुले कूचोसमेत बोकेका थिए ।
उनीहरुले एमाले मूर्दावादको नारा लगाएपछि केही एमाले कार्यकर्ता बाहिर आएर लखेटेका थिए । चार पाँच जनाले कालोझण्डा देखाएर एमाले बिरुद्ध नाराबाजी गरेको भेलामा सहभागी अनेरास्ववियु केन्द्रीय सचिव आरती लामाले बताउनुभएको छ ।
कार्यकर्ता भेलामा माधव नेपाल, गोकर्ण विष्ट, शत्रुघन महतो लगायतका नेताहरु सहभागी छन् । २ नम्बर प्रदेशको चुनावलाई लक्षित गरेर एमालेले अगुवा कार्यकर्ता भेला आयोजना गरेको हो ।

 

प्रकाशित मिति : १३ भाद्र २०७४ मंगलबार ००:००  १० : ५४ बजे