११ बैशाख २०८१, मंगलबार | Tue Apr 23 2024

साल्ट ट्रेडिङ कर्पोरेशन टीकापुरले सुपथ मुल्य पसल संचालनमा ल्यायो



धनराज कटेल, कैलाली,२० भाद्र ।
साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड डिपो कार्यालय, टीकापुरले सोमबारबाट सुपथ मुल्य पसल संचालनमा ल्याएको छ । डिपो कार्यालय टीकापुरले सुपथ मूल्य पसलबाट नुन र चिनी बिक्रि बितरण गरेको छ । प्रति किलो चिनी ७७ रुपैया ५० पैसा र नून प्रतिकिलो १८ रुपैयामा बिक्री बितरण भईरहेकोे सुपथ मूल्य पसल टीकापुरका प्रमुख तेजवहादुर कुँवरले बताउनुभयो । कुँवरले सुपथ मूल्य पसलबाट प्रति व्यक्तिले चिनी र नुन छ किलोसम्म मात्र खरिद गर्न सक्ने बताउनुभयो ।

चिनीको बजार मूल्य टीकापुरमा प्रति किलो ८५ रुपैयामा रहेकोमा सुपथ मूल्य पसल सञ्चालनसंगै उपभोक्ताले केहिमात्रा भएपनि राहत पाउने छन् ।टीकापुरका उपभोक्ताले बजार मूल्यको तुलनामा सुपथ मूल्य पसलबाट प्रति किलो चिनीमा ७ रुपैया ५ पैसा, र नुनमा २ रुपैयाँ सस्तो पाउने छन् । चाडबाडको समयमा उपभोक्तालाई राहत दिन नेपाल सरकारको नीतिबमोजिम आगामी कात्तिक ९ गतेसम्म सुपथ मूल्य पसल सञ्चालन रहने कुवँरले बताउनुभयो ।

वडादशैं तथा तिहार पर्वलाई लक्षित गरी साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड अञ्चल कार्यालय, धनगढीले यहि भाद्र १६ गतेदेखि सूदुरपश्चिमका ७ ठाउँमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड अञ्चल कार्यालय धनगढीका सहायक प्रबन्धक केशवप्रसाद पाण्डेले जानकारी दिनभयो ।

कार्यालयले कैलालीको धनगढी र टीकापुर, डोटीको दीपायल, कञ्चनपुरको भीमदत्तनगर र बेलौरी, डडेलधुरा सदरमुकाम र बैतडीको पाटनमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याइएको कार्यालयका सहायक महाप्रबन्धक केशवप्रसाद पाण्डेले जानकारी दिनुभयो ।

 

प्रकाशित मिति : २० भाद्र २०७४ मंगलबार ००:००  १ : ४२ बजे