१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

जग्गा निशुल्क पाएपछि वाणगंगा नगरपालिकाको कार्यालय भवन शिलन्यास



हरि अधिकारी, कपिलवस्तु, ६ असोज ।
वाणगंगा नगरपालिका ४ स्थित दरखास्तमा निर्माण गरिने नगरपालिकाको नया भवनको विहिबार शिलन्यास गरिएको छ । २ कट्ठा क्षेत्रफल ओगटेको भुकम्प प्रतिरोधात्मक ५ तले भवनको वाणगंगा नगरपालिकाका मेयर मंगल प्रसाद थारु तथा उपमेयर चक्रपाणी अर्यालले एक कार्यक्रमका बीच शिलन्यास गरेका थिए ।
५ करोडको लागतमा निर्माण गरिने वाणगंगा नगरपालिकाको कार्यालय भवन पूर्णरुपमा भुकम्प प्रतिरोधात्मक तथा सुविधा सम्पन्न हुने नगरपालिकाका इन्जिनियर सुरज घिमिरेले बताए । उनका अनुसार नगरपालिकाको भवन ४ तलासम्म ढलाई हुने र माथिको १ तलामा ट्रस्ट राखिने गरि डिजाइन गरिएको छ । भवन निर्माण कार्यको ठेक्का पाएको श्याम सुन्दर एन बि जेभि कन्सर्टक्सनका नारायण भुसालले २ वर्ष भित्र कार्य सम्पन्न गर्ने गरी सम्झौता रहेको कार्यालयले जनाएको छ । उनका अनुसार वाणगंगा नगरपालिकाको भवन निर्माण मापदण्ड २०७३ अनुसार गुणस्तर र भुकम्प प्रतिरोधात्मक हुने बताइएको छ ।
पूर्व पश्चिम राजमार्गमा पर्ने दरखास्त चोकदेखि २ सय मिटर उत्तरतर्फ वाणगंगा नगरपालिकाको कार्यालय भवन निर्माण गर्न लागिएको हो । नगरपालिका गठन भएको ३ वर्षपछि वाणगंगा नगरपालिकाको नया भवन निर्माणमा निशुल्क जग्गा उपलब्ध भएपछि निर्माण कार्य शुरु भएको हो । वाणगंगा नगरपालिका ४ दरखास्त निवासी समाजसेवी जंग बहादुर मल्ल परिवारले जग्गा उपलब्ध गराएपछि भवन निर्माण कार्य अघि बढेको हो । जग्गा दाता जंग बहादुर मल्ल, शान्ति मल्ल, पवित्रा मल्ल, मानबहादुर मल्लले नगरपालिका भवन जाने आउने बाटो सहित ४ कट्ठा जग्गा उपलब्ध गराएका थिए ।
उक्त जग्गा हालको बजार मूल्य ५ करोड बराबर रहेको बताइएको छ । नगरपालिका कार्यालय भवनको लागि १ कट्ठा जग्गा स्थानीय व्यक्ति र संघ संस्थाको सहयोगमा जंगबहादुर मल्लसंग खरिद गरी र १ कट्ठा जग्गा मल्ल परिवारको गरेर नगरपालिकाको नाममा २ कट्ठा जग्गा हस्तान्तरण गरिएको थियो । नगरपालिकाले प्रयोग गर्ने अन्य बाँकी जग्गा मल्ल परिवारले भोगचलन गर्दै आएका थिए ।
वाणगंगा नगरपालिकाको जग्गा व्यवस्थापन समितिले विगतमा सिद्धार्थ नगर विकास समितिलाई जग्गा व्यवस्थापनको जिम्मा दिइएको महासचिव अमित पौडेलले जानकारी दिए । दशैको घटस्थापनाको दिन पारेर भवन शिलन्यास कार्यक्रममा वाणगंगा नगरपालिकाका प्रमुख, उपप्रमुख, वडा अध्यक्षहरु, कर्मचारी लगाएतको सहभागीता रहेको थियो ।

 

प्रकाशित मिति : ६ आश्विन २०७४ शुक्रबार ००:००  २ : ५२ बजे