११ बैशाख २०८१, मंगलबार | Tue Apr 23 2024

माओवादी केन्द्र रोल्पाले उम्मेद्वार टुङ्गायो



काठमाण्डौ, १७ असोज ।
नेकपा माओवादी केन्द्र रोल्पाले प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार टुंगो लगाएको छ । माओवादीले प्रतिनिधिसभा निर्वाचनका लागि वर्षमान पुन ‘अनन्त’लाई सिफारिस गरेको छ । अनन्त पूर्वअर्थमन्त्री र पूर्व शान्तिमन्त्री बनिसकेका माओवादी केन्द्रका प्रभावशाली नेता हुनुहुन्छ ।
यसैगरी प्रदेश सांसदका लागि रोल्पा क्षेत्र नम्बर १ बाट सचिवालय सदस्य जोखबहादुर महरा र युवा नेता कुलप्रसाद केसी ‘सोनाम’लाई सिफारिस गरिएको छ ।
महरा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको स्वकीय सचिव समेत हुनुहुन्छ । बादल समूहबाट एकता प्रक्रियामा आउनुभएका सोनाम भने अहिलेसम्म कुनै पनि लाभको पदमा पुग्नुभएको छैन ।
यसैगरी क्षेत्र नं. २ बाट भने केन्द्रीय सचिवालय सदस्य दीपेन्द्र कुमार पुनमगर ‘सिजल’लाई सर्वसम्मत रुपमा उम्मेदवार सिफारिस गरिएको छ । विद्यार्थीबाटै राजनीतिमा लागेका पुन जनयुद्धकालमा एउटा हात गुमाउनुभएको छ ।
यसैगरी समानुपातिक तर्फ केन्द्रीय सांसदका लागि पूर्वमन्त्री जयपुरी घर्तीमगर, हाल सभामुख रहेकी ओनसरी घतीमगर सिफारिसमा पर्नुभएको छ ।
प्रदेशका लागि क्षेत्र नं. १ बाट चन्द्रबहादुर बुढामगर ‘शेष’, मिना बुढामगर ‘प्रतिक्षा’, पवनकुमार कवँर, ओमबहादुर पुनमगर, सीता आचार्य, राजकुमार कवँर, इन्द्रबहादुर रोका सिफारिसमा पर्नुभएको छ ।
यसैगरी क्षेत्रनम्बर २ बाट सुरेन्द्र थापा घर्ती ‘ध्रुव’, तोपबहादुर डाँगी, कर्मलाल परियार, रामधन पुनमगर, हरीसरा घर्तीमगर, भक्तबहादुर वली र काशीराम बुढामगर सिफारिसमा पर्नुभएको छ ।

प्रकाशित मिति : १७ आश्विन २०७४ मंगलबार ००:००  २ : ३६ बजे