१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

​चुनावी तालमेल र पार्टी एकताका लागि एमाले–माओवादी बिहानैदेखि आन्तरिक छलफलमा



 

काठमाडौं, असोज १७ ।

माओवादी केन्द्र र एमालेबीच चुनावी तालमेलदेखि पार्टी एकीकरण गर्नेसम्मको प्रस्तावलाई निष्कर्षमा पुर्‍याउन दुवै दलले आन्तरिक तयारी तिव्र पारेका छन् । दुई पार्टीबीच आजै औपचारिक सहमतिपत्रमा हस्ताक्षर गर्ने गरी एमाले र माओवादीले आन्तरिक छलफललाई बढाएका हुन् ।
आउँदो संघ र प्रदेशको चुनावमा तालमेल गर्ने र पार्टी एकीकरण गर्ने प्रस्तावसहित सात बुँदे मस्यौदामाथि दुई दलभित्र छलफल भएको नेताहरुले जनाएका छन् । एमालेका तर्फबाट वार्ता टोलीमा रहेका अध्यक्ष केपी शर्मा ओली, झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतमले छलफल गरेका हुुन् भने माओवादी केन्द्रले सचिवालय बैठक नै बोलाएर मस्यौदाबारे ब्रिफिङ गरेको छ ।
मंसिरमा हुने प्रतिनिधीसभा र प्रदेशसभाको चुनावमा एक भएर जाने र पार्टी नै एकिकरण गर्न सकिनेमा दुवै दल सहमत भएपछि सहमतीको विन्दु खोज्न आफूहरु लागिरहेको एमालेका उपाध्यक्ष भिम रावलले उज्यालोलाई जानकारी दिनुभयो ।
माओवादी सचिवालय बैठकमा केही नेताले प्रस्तावप्रति असहमति जनाए पनि अधिकांश नेता तालमेल र पार्टी एकीकरणको पक्षमा देखिएका छन् । माओवादीको हिजो बसेको सचिवालयको बैठकले एमालेसँग चुनावी एकतादेखि पार्टी एकिकरणसम्म हुनसक्ने निर्णय गरेको थियो ।
देउवा प्रचण्ड भेट
प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ । माओवादीले कांग्रेससँगको सहकार्य तोडेर एमालेसँग पार्टी एकीकरण गर्ने तयारी गरेपछि अध्यक्ष दाहालले बालुवाटार पुगेर प्रधानमन्त्री देउवासँग भेटावर्ता गर्नुभएको हो ।
दुई नेताबीच एक घण्टा एक्ला एक्लै कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । उहाँहरुबीच दिउँसो पनि भेटवार्ता हुनेछ । यस्तै, संघीय समाजावादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसँग पनि अध्यक्ष दाहालले भेटवार्ता गर्नुभएको छ । दाहाल निवास लाजिम्पाटमा दुई नेताबीच समसायिक राजनीतिक घटनाक्रमबारे छलफल भएको हो ।

प्रकाशित मिति : १७ आश्विन २०७४ मंगलबार ००:००  ६ : ३१ बजे