११ बैशाख २०८१, मंगलबार | Tue Apr 23 2024

नेपालमाथी विदेशी शक्तिको प्रहार छ -दाहाल



मायादेवी अनलाइन, कपिलवस्तु, २० असोज ।
राजनीतिक विश्लेषक भरत दाहालले देशलाई असफल राष्ट्र बनाउन विदेशी शक्तिले विभिन्न हतकण्डा अपनाउदै आएको खुलासा गर्नुभएको छ । कपिलवस्तुको सिद्धार्थ क्याम्पसमा भएको एक अन्तर्रक्रियात्मक कार्यक्रममा बोल्दै राजनीतिक विश्लेषक दाहालले नेपालमा राजनीतिक अस्थिरता ल्याएर गूह युद्ध चर्काउने गरि विदेशी शक्तिहरु लागिरहेको जिकिर गर्नुभयो ।
देशमा भएका विभिन्न राजीनितिक घटनाक्रम बारे जानकारी दिदै उहाँले राजा विरेन्द्र र राजनेता मदन भण्डारीको मृत्यु हुनुमा पनि विदेशी शक्तिकै संलग्नता रहेको दाबी गर्नुभयो । नेपाललाई उपयोग गरि विभिन्न स्वार्थपूर्ती गर्नका लागि विदेशी शक्तिले चलखेल गरिरहेको र त्यसमा नेपालका नेताहरु प्रयोग भैरहेको उहाँले जिकिर गर्नुभयो ।
अन्तर्रक्रिया कार्यक्रममा एमाले यूवा नेता विष्णु पंथीले देशलाई तीव्र समृद्धिको दिशामा अगाडी बढाउन आगामी चुनावमा बामपंथी दलले जित्नुपर्नेमा जोड दिनुभयो । कांग्रेसले पटक पटक सरकारको नेतृत्व गरेपनि देशमा केहि गर्न नसकेको भन्दै बामपंथी दल विचको चुनावी तालमेल र पछि हुने एकताले जनतामा सकारात्मक संन्देश प्रवाह गरेको बताउनुभयो ।
सोहि अवसरमा बोल्दै मेचीकाली राष्ट्रिय दैनिकका प्रधान सम्पादक तथा बुटबल बहुमुखी क्याम्पसका प्रध्यापक बसन्तराज खनालले यूवाहरु देशको राजनीतिक परिवेशबारे जानकार हुनुपर्ने बताउनुभयो । आज भएको बहस कार्यक्रम जिल्लाकै नमुना भएको भन्दै अब कपिलवस्तुको विकास निर्माणमा पनि बहस सिर्जना गराउन युवाहरुलाई सुझाव दिनुभयो ।
युवा नेता प्रदीप पोख्रेलको अध्यक्षता, पत्रकार दिपक अनुरागीको सञ्चालनमा भएको उक्त कार्यक्रममा प्रध्यापक सुन्दर पाण्डे, जेसिस कपिलवस्तुका महासचिव राजेन्द्र अर्याल, सिद्धार्थ क्याम्पसका स्ववियु सभापति शुसील खत्री लगायतले बोल्नुभएको थियो ।

प्रकाशित मिति : २० आश्विन २०७४ शुक्रबार ००:००  १ : ४४ बजे