७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

मधेसको स्वघोषित मसिहा शाहको राजनैतिक भविश्य अन्योलग्रस्त !



मायादेवी अनलाइन, कपिलवस्तु, २० असोज ।
कपिलवस्तुमा राम्रो उपस्थिती जनाउन सफल भएको राजपाको अस्तित्व यतिखेर संकटमा पर्न थालेकोछ । राजपाको मुख्य घटक तमलोपाका तर्फवाट संविधानसभा निर्वाचन २०७० मा कपिलवस्तु क्षेत्र नं २ वाट निर्वाचित सांसद एव्म राजपाका सहमहामन्त्री बृजेश कुमार गुप्ता र तमलोपाकै केन्द्रिय नेता इश्वर दयाल मिश्राले राजपा परित्याग गरेपछि अस्तित्वमा संकट शुरुभएको हो ।
उहाँहरु दुबै राजपाकै अर्का प्रभावशाली नेता हृदेश त्रिपाठीसंगै राजपा परित्याग गर्दै आगामी चुनावमा एमालेको चुनाव चिन्ह सूर्यवाट उम्मेद्वार बन्ने र सूर्य चिन्हकै पक्षमा लागि पर्ने उद्घोष गरेसंगै राजपाको अस्तित्व संकटमा परेको हो । यतिमात्र होइन राजपाका ठुला नेताले पार्टी परित्याग गरेर सूर्य चिन्ह अगाल्ने घोषणा काठमाण्डौमा गरेकै अर्काेदिन कपिलवस्तुको दक्षिणी भेगका राजपाका दर्जनौ जिल्ला स्तरीय प्रभावशाली नेता औपचारीक रुपमै एमालेमा प्रबेश गरेका छन् । यो संगै राजपालाई अव आउने चुनावमा भरपर्दाे उम्मेद्वार भेट्याउन समेत मुस्किल हुने भएकोछ ।
राजपाका नेता जगन्नाथ चौधरी, पूर्व गाविस अध्यक्षहरु याकुव मुसलमान, राजरुची चौधरी, राजनारायण चौधरी लगायतका नेताहरु एकैसाथ एमालेमा प्रबेश गरेका हुन् । त्यतिमात्र होइन माओवादी केन्द्रका केन्द्रिय नेता विनोद चौधरी कुर्मी र संघिय समाजवादी फोरमका केन्द्रिय नेता इशरार अहमद खाँ समेत एमालेमा प्रबेश गर्नु भएको हो । मंगलवार पकडीमा आयोजित एमालेको बृहत्त जनसभा मार्फत ती नेताहरु एमालेमा प्रबेश गरेकै केहि घण्टा भित्रै मधेस राजनीतिमा प्रभावकारी भूमिका निर्वाह गर्दै आएका तत्कालिन क्षेत्र नं ५ का सांसद अभिशेष प्रताप शाहले संघिय समाजवादी फोरम परित्याग गरेको घोषणा गरेका छन् ।
हाल सांसद रहेकै वखत विभिन्न सांम्प्रदायिक र अराजक अभिब्यक्ति दिएर विवादित बन्दै आएका शाहले प्रदेश नं २ को चुनावताका एमालेलाई भोट दिनु भनेको मुसलमानका लागि सुगुरको मासु खानु र हिन्दुका लागि गाइको मासु खानु जस्तै पाप हो भन्दै आफ्नो फेसबुक स्टाटस लेखेर विवादमा परेका थिए ।
मधेसको स्वघोषित मसिहा दावि गर्ने सांसद शाहको अन्ततः मधेस केन्द्रित साँगुरो परिकल्पना ध्वस्त मात्र बनेन उनको राजनैतिक भविश्य समेत अन्योलग्रस्त वनेकोछ । विगतमा मधेस र पहाड बीचमा विभेदको नाराका भरमा चुनाव जितेका अभिशेष प्रताप अव कुन दलले पत्याउँछ भन्दै टिकटका लागि लतपताउने स्थितीमा पुगेका हुन् । सांसद शाह कांग्रेसमा प्रबेश गर्ने चर्चा चलि नै रहेकै छ । तर शाहको प्रबेश संगै विरेन्द्र कनौडीयाले कांग्रेस परित्याग गर्ने तैयारीमा रहेको र कनौडीया एमालेमा प्रबेश गर्ने भन्दै केहि दिन पहिले सभाको आयोजना गर्न एमालेले तैयारी गरेको भएपनि सो सभा स्थगित भएकाले शाहको कांग्रेस प्रबेश चुनौती पूर्ण नै मानिएकोछ ।
शाहका कतिपय निकटस्थहरु गच्छेदार समुहमा प्रबेश गर्न तैयार भएको समेत वताउँछन् जे होस मधेस केन्द्रित दल वाहेक अन्य दलको कुनैपनि अस्तित्व नदेख्ने सांसद शाह अन्तत्वगोत्वा मधेस राजनीतिवाट विलिन भएका छन् । उनको राजनैतिक भविश्य अन्योलको भुमरीमा फसेकोछ । भन्सार कार्यलयले भारतवाट भैसी नेपालमा ल्याउँदा भन्सार मागेको निहुमा भैसीको वथान भन्सार भित्र पसालेर कर्मचारीलाई अभद्र ब्यवहार गर्ने देखि मधेस सरकार भनेर कृष्णनगरका सरकारी कार्यलयमा साइन वोर्ड लेख्दा रोक्न खोज्ने प्रहरी माथि अभद्र ब्यवहार गर्ने शाहले सायदै सोचेका थिएनन् होला उनको राजनैतिक उग्रवाद पतन हुनेछ भन्ने ।
सायद उनले सोचेका थिएनन् कांग्रेस एमाले जस्ता मुलधारमा पार्टी विना उनको राजनैतिक भविश्य धरापमा पर्छ भन्ने । तर विडम्वना स्वघोषित मसिहाहरु कहिले काही धुलोमा पछारीन्छन् भन्ने उनले अव पत्ता पाए होलान । शरिरमा लागेको धुलोको धब्वा टकटकाउदै अव राजनैतिमा अलिकति सुविचारीत अभिब्यक्ति दिएर एकपटक सांसद भएको मान्छे जस्तो परिचय दिने विकल्प उनका सामु विद्यमान छ ।

 

प्रकाशित मिति : २० आश्विन २०७४ शुक्रबार ००:००  २ : २० बजे