१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

माओवादी केन्द्र सरकार ढाल्ने पक्षमा नभएको प्रचण्डको प्रष्टोक्ती



काठमाडौं, २१ असोज ।
पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले माओवादी केन्द्र सरकार ढाल्ने पक्षमा नभएको स्पष्ट पारेका छन् ।

शनिबार बिहान माओवादी केन्द्रको संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले सरकार ढाल्नेबारे आफूले नसोचेको प्रष्ट्याएका हुन् ।

“हामीले एमालेसँग पार्टी एकता र चुनावी तालमेलको निर्णय गरेका छौं, यो हाम्रो नेपालमा एउटै कम्युनिष्ट केन्द्र बनाउने अभियान हो । यसले सरकारलाई कुनै असर गर्दैन, हामी सरकार ढालेर निर्वाचन प्रभावित गर्न चाहँदैनौं । तर, प्रधानमन्त्री र नेपाली कांग्रेसले सरकार छोड्नुपर्छ भने हामी छोड्न तयार छौं । हाम्रो एक मात्र चाहना तोकिएकै मितिमा चुनाव होस् भन्ने हो,” प्रचण्डको भनाइ उद्धृत गर्दै स्रोतले बतायो ।
संसदीय दलका नेता समेत रहेका अध्यक्ष प्रचण्डले एमाले, नयाँ शक्तिसँग एकताको सैद्धान्तिक सहमति भए पनि वैचारिक विषयमा एकरुपता कायम गर्न बाँकी रहेको बताए । “एमाले, नयाँ शक्ति र हामीबीच पार्टी एकताको सैद्धान्तिक सहमति भएको छ । तर, वैचारिक विषयमा बहस गरेर एकरुपता कायम गर्न बाँकी नै छ ।

एउटा अर्काेमा बिलय भएर एकता हुने होइन, वैचारिक राजनीतिक र संगठनात्मक विषयमा बहस गरेर हामी साझा टुङ्गोमा पुग्छौं । अहिले हाम्रा आ–आफ्नै वैचारिक मान्यता कायम छन्,” उनले बैठकमा भनेका थिए ।
बैठकमा अध्यक्ष प्रचण्डले संविधान निर्माण र कार्यान्वयनको प्रक्रियामा महत्त्वपूर्ण भूमिका खेलेकोमा सांसदहरुलाई धन्यवाद समेत दिएका थिए ।

प्रकाशित मिति : २१ आश्विन २०७४ शनिबार ००:००  ८ : ५१ बजे