१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

काँग्रेसले ३२ वटै जिल्लाका उम्मेदवार टुंगो लगायो



काठमाडौँ, ५ कात्तिक ।
नेपाली काँग्रेसले आगामी मंसिर १० गते प्रदेश र प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन हुने ३२ जिल्लाका निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ ।
काँग्रेसले संघीय समाजवादी फोरम नेपाल, नयाँ शक्ति नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राप्रपा (प्रजातान्त्रिक) सँग चुनावी तालमेल गरेर उम्मेदवार टुंगो लगाएको केन्द्रीय सदस्य डा प्रकाशशरण महतले सञ्चारकर्मीलाई जानकारी दिनुभयो ।
उम्मेदवारको टुंगो लगाउन काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका शीर्ष नेताहरु शुक्रबार साँझ अबेरसम्म प्रधानमन्त्री निवास बालुवाटारमा छलफलमा जुटेका थिए ।
स्रोतका अनुसार काँग्रेससँग चुनावी तालमेल गरेको नयाँ शक्ति नेपालले दुईवटा निर्वाचन क्षेत्र पाएको छ भने राप्रपा प्रजातान्त्रिकले एउटा मात्र निर्वाचन क्षेत्र पाएको छ ।
नयाँ शक्ति नेपालबाट गोरखा क्षेत्र नं २ र रसुवामा उम्मेदवार रहनेछन् । राप्रपा प्रजातान्त्रिकले पशुपतिशम्शेर राणालाई सिन्धुपाल्चोक–२ मा काँग्रेससँगको तालमेलमा उम्मेदवारी दिने भएको छ ।
राप्रपा र संघीय समाजवादी फोरमले भने प्रदेशसभा सदस्यमा मात्र उम्मेदवारी दिने बताइएको छ ।
काँग्रेसले जनतामाझ लोकप्रिय तथा निर्वाचनमा जित हासिल गर्न सक्ने कर्मठ, संघर्षशील र त्यागी व्यक्तिलाई उम्मेदवार बनाएको नेता महतले बताउनुभयो ।
(रासस)

प्रकाशित मिति : ५ कार्तिक २०७४ आइतबार ००:००  ६ : ४८ बजे