७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

भट्टराईको नेतृत्वमा संमृद्धि आउँदैन – नारायणकाजी



गोरखा, ६ कात्तिक (रासस) ।
गोरखा २ बाट उम्मेदवार बन्नुभएका नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईको नेतृत्वमा देशमा संमृद्धि नआउने दाबी गर्नुभएको छ । श्रेष्ठ र भट्टराई गोरखा २ बाट चुनावी प्रतिष्पर्धामा हुनुहुन्छ ।
गोरखा २ वामपन्थी क्रान्तिकारीको किल्ला भएको, संगठन राम्रो भएको, वाम गठबन्धनले गर्दा कार्यकर्तामा उच्च मनोबल रहेको र कार्य्दिशा स्पष्ट भएकाले आफूले निर्वाचन जित्ने श्रेष्ठको तर्क छ । नेकपा एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेलमात्र नभई पार्टी पनि एकता गर्ने सहमति भइसकेको श्रेष्ठले जानकारी दिनुभयो ।
पर्यटन, शिक्षा, जडीबुटी व्यवस्थापन गर्दै गोरखा विकासमा नमूना जिल्ला बनाउने दावी श्रेष्ठले गर्नुभयो । सदरमुकाममा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै श्रेष्ठले भन्नुभयो, “बाबुरामजीलाई वाम गठबन्धनमा हामीले नै सामेल गरौँ भनेर सहभागी गराएका थियौँ । उहाँकै प्रवृत्तिले छाड्नुपरेको हो । नारायणकाजीले गर्दा उहाँ वाम गठबन्धनबाट बाहिरिएको भन्ने सत्य होइन ।”

प्रकाशित मिति : ६ कार्तिक २०७४ सोमबार ००:००  ९ : ४० बजे