१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

नवलपरासीमा चुनावी भिडन्तमा यस्ता छन्, उम्मेदवार



नवलपरासी, १३ कात्तिक (रासस) ।
दुई जिल्लामा विभाजित नवलपरासी जिल्लाबाट प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा केही शीर्ष नेताले चुनावी मैदानमा उत्रिने तयारी गरेका छन् ।

नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइराला नवलपरासी ( बर्दघाट सुस्ता) पूर्व जिल्ला अन्तर्गत क्षेत्र नं १ बाट प्रतिनिधि सभामा चुनाव लड्ने निश्चित जस्तैछ ।

यसैगरी, पूर्व गृहराज्यमन्त्री एवं नेपाली काँग्रेसका केन्द्रीय सदस्य देवेन्दराज कंडेलले नवलपरासी (बर्दघाट सुस्ता) पश्चिम जिल्ला अन्तर्गत क्षेत्र नं २ बाट प्रतिनिधि सभामा चुनाव लड्नै निश्चित प्रायः छ ।
अहिले स्वतन्त्र गठबन्धनका अगुवा र पूर्वमन्त्री नेता हृदयेश त्रिपाठी पनि सूर्य चुनाव चिन्हसहित नवलपरासी (बर्दघाट सुस्ता ) पश्चिम जिल्ला अन्तर्गत क्षेत्र नं १ बाट प्रतिनिधि सभामा चुनाव लड्दै हुनुहुन्छ ।

नेकपा एमालेका केन्द्रीय सदस्य तिलक महत नवलपरासी (बर्दघाट सुस्ता) पूर्व जिल्ला अन्तर्गत क्षेत्र नं २ बाट प्रतिनिधि सभामा चुनाव लड्ने निश्चित छ भने पूर्व स्थानीय विकास राज्यमन्त्री एवं माओवादी नेता घनश्याम यादव नवलपरासी (बर्दघाट सुस्ता) पश्चिम जिल्ला अन्तर्गत क्षेत्र नं २ बाट प्रतिनिधि सभामा चुनाव लड्दै हुनुहुन्छ ।

निवर्तमान् सांसद एवं नेकपा एमालेका केन्द्रीय सदस्य वैजनाथ चौधरी नवलपरासी (बर्दघाट सुस्ता) पूर्व जिल्ला अन्तर्गत क्षेत्र नं १ अन्तर्गत ‘क’ क्षेत्रबाट प्रदेश सभामा चुनाव लड्ने निश्चित छ ।

नवलपरासी दुई जिल्लामा टुक्रिएपछि बर्दघाट सुस्ता पूर्व र पश्चिममा दुई÷दुई गरी चार निर्वाचन क्षेत्र छन् जसमा प्रतिनिधि सभा सदस्यका लागि चारवटा निर्वाचन क्षेत्र रहेका छन् । प्रदेशसभाका लागि दुवै जिल्लामा करिब आठ निर्वाचन क्षेत्र रहेका छन् ।

दुई प्रदेशमा विभाजित नवलपरासीका दुई जिल्लामा कूल चार लाख २९ हजार ८९४ मतदाता रहेका छन् । नवलपरासीमा दुवै तर्फ गरी कूल तीन हजार ६३८ कर्मचारी निर्वाचनमा खटिने बताइएको छ ।

 

प्रकाशित मिति : १३ कार्तिक २०७४ सोमबार ००:००  १ : ५० बजे