१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

मधेसमा एमाले प्रति जनलहर बढ्दो, राजपाका उपाध्यक्ष सहित दर्जन नेताहरु एमालेमा प्रवेश



लक्ष्मण पोखरेल, बुटबल, १३ कात्तिक ।
राष्ट्रिय जनता पार्टीका राष्ट्रिय उपाध्यक्ष तथा पूर्व मन्त्री ओमप्रकाश यादव गुल्जारी एमालेमा प्रवेश गरेका छन् । सोमबार मर्चवारमा भएको एक सभामा एमाले उपाध्यक्ष बामदेव गौतमले यादवसहितका नेताहरुलाई स्वागत गरे ।

एमालेका कार्यकर्ता निकै कम भएको स्थान मर्चवारमा भएको कार्यक्रममा पूर्व मन्त्री गुल्जारीसहित राजपाका तीन जना केन्द्रीय सदस्य र सम्मरीमाई गाउँपालिकाका अध्यक्ष जितेन्द्रमणि शुक्ला समेत एमालेमा प्रवेश गरेका छन् ।

राजपाका केन्द्रीय नेताहरु मुरारीलाल अग्रवाल, हजरत बेलाल फेक, अम्बिका त्रिपाठी, पल्लबी शुक्ला, पूर्व प्रमुख जिल्ला अधिकारी अब्दुल कलाम खा, नेता ओमप्रकाश दुवे, राप्रपाका जिल्ला सदस्य रामबृक्ष यादव, लुम्बिनी सांस्कृतिक नगरपालिका वार्ड १० का वडाध्यक्ष मुवारत अली लगायतका नेताहरु एमालेमा प्रवेश गरेका हुन् ।

सभालाई एमाले अध्यक्ष केपी शर्मा ओली सम्बोधन गर्दै प्रवेश गर्नेलाई स्वागत गर्ने कार्यक्रम थियो । अन्तिम समयमा उपाध्यक्ष गौतम आएका थिए ।

पूर्व मन्त्री गुल्जारीले मधेशी नेताले जनतालाई भ्रममा राखेर राजनीति गरेको भन्दै देश विकास र राष्ट्रियताको रक्षाका लागि एमालेको विकल्प नभएको बताए । ‘मधेशी जनता भ्रममा रहनु हुदैन, अब मधेशमा विकास गर्ने बेला भएको छ, उनले भने ।

प्रकाशित मिति : १३ कार्तिक २०७४ सोमबार ००:००  २ : २८ बजे