१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

अर्घाखाँचीमा १२ हजार नयाँ मतदाता थपिए



अर्घाखाँची, १५ कात्तिक ।
आउँदो मंसिर २१ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा चुनावका लागि अर्घाखाँचीमा ९३ मतदान स्थल कायम गरिएको छ । स्थानीय तह चुनावमा कायम भएका मतदान स्थललाई नै कायम गरिएको जिल्ला निर्वाचन कार्यालय अर्घाखाँचीका प्रमुख केदारनाथ शर्माले जानकारी दिनुभयो ।
एक प्रतिनिधिसभा तथा दुईवटा प्रदेशसभा क्षेत्र रहेको अर्घाखाँचीमा एक सय चौह्तर मतदान केन्द्र रहने जिल्ला निर्वाचन कार्यालय अर्घाखाँचीले जनाएको छ । गएको असारमा सम्पन्न स्थानीय तह चुनावमा भन्दा मतदाता संख्याको आधारमा ८ वटा केन्द्र थप भएको जिल्ला निर्वाचन अधिकृत शर्माले बताउनुभयो ।
सहायक प्रमुख जिल्ला अधिकारी शंकर भुषालले आउँदो मंसिरमा हुने चुनावलाई शान्तिपूर्ण भयरहित वातावरणमा सम्पन्न गर्न सबैपक्षले सहयोग गर्न आग्रह पनि गर्नुभयो । यस्तै अर्घाखाँचीमा प्रतिनिधिसभा चुनावका लागि एक लाख ३८ हजार ३ सय २८ जनाले मतदान गर्न पाउने भएका छन् । जसमा ७१ हजार ३ सय ५० महिला र ६६ हजार ९ सय ७८ पुरुष रहेका छन् ।
एउटा मात्र प्रतिनिधिसभा र दुईवटा प्रदेशसभा रहेको अर्घाखाँचीमा प्रदेशसभा क्षेत्र नं १ मा ६५ हजार २ सय ६ र प्रदेशसभा क्षेत्र नं २ मा ७३ हजार १ सय २२ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयका कम्प्युटर अपरेटर नारायण बन्जाडेले जानकारी दिनुभयो । प्रदेशसभा क्षेत्र नम्बर एकमा भन्दा दुईमा १२ हजार मतदाता बढी रहेका छन् । जिल्लामा स्थानीय तहको चुनावपछि मतदाता १२ हजार नयाँ मतदाता थपिएको निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०७४ बुधबार ००:००  २ : १४ बजे