१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

अर्घाखाँचीको छत्रदेव गाउँपालिका खरको छाना मुक्त हुने



अर्घाखाँची, १ मंसिर ।
अर्घाखाँचीको छत्रदेव गाँउपालिकामा खरको छाना भएका घरलाई हटाई टिनको छाना लगाइने भएको छ । छत्रदेव गाउँ कार्यपालिकाको सभाले खरको छानालाई हटाएर टिनको छाना लगाउनका लागि एक करोड २० लाख रुपैयाँ विनियोजन गरेको छ । छत्रदेव गाउँपालिकाको कार्यपालिका बैठकले गाउँपालिका भित्र रहेका ३ सय ३४ खरको छानो भएका घरमा टिनको छानो लगाउने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेलले जानकारी दिनुभयो ।
गाउँपालिकाका सबै वडामा सामाजिक सुरक्षा भत्ता वितरण गर्दाको दिनमा निशुल्क स्वास्थ्य शिविर आयोजना गरिने भएको छ । गाउँपालिकाका आठवटै वडामा वादरको समस्या भएकोले वर्षको दुई महिना मकै खेती जोगाउन बाँदर हेरालुको व्यवस्था गर्ने र किसानले उत्पादन गरेको खेतीको सुरक्षा गर्ने र छत्रदेवलाई मासु, अण्डा र दुधमा आत्मनिर्भर बनाउने ‘आफ्नै घर रोजगारीको भर’ भन्ने नारालाइ सार्थकता तुल्याउने निर्णय गरेको उहाँले बताउनुभयो ।
गाउँपालिका भित्र रहेका विद्युतीय काठका पोल हटाउने र गाउँलाई लोडसेडिङ मुक्त बनाउने, पर्यटकीय स्थलको प्रचार – प्रसार गरि पर्यटनको आवगनमा वृद्धि गराउने भएको छ । सबै विद्यालयमा आउदो शैक्षिक सत्रदेखि अंग्रेजी माध्यममा अध्यापन गराउने, विषयगत शिक्षकलाई विद्यार्थीको नतिजाको आधारमा पुरस्कृत गर्ने तथा विद्यार्थीको गुनासो सुन्न विद्यार्थी गुनासो पेटिका राख्ने निर्णय भएको छ । ‘छत्रदेवको सान सुन्दर शान्त र समृद्ध गाँउपालिका हाम्रो अभियान’ भन्ने नारा तय गरी नेपालकै नमुना गाँउपालिका बनाउने गरी कार्य योजना अघि बढाएको अध्यक्ष पोख्रेलको जानकारी दिनुभयो ।

प्रकाशित मिति : १ मंसिर २०७४ शुक्रबार ००:००  १ : ३५ बजे