८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मतदाता प्रभावित पार्न पैसा बाड्दै दिप कुमार उपाध्याय !



कपिलवस्तु, मंसिर १० ।
नेपाली कांग्रेसका नेता एंव भारतका लागि पूर्व नेपाली राजदुत दिपकुमार उपाध्यायले पुनः आचार संहिता उलङ्घन गरेका छन् । मतदाताहरुलाई प्रभावित पार्न उनले घरदैलो अभियानकै क्रममा सम्मान गर्ने र आर्थिक बाड्न थालेका छन् । कपिलवस्तु क्षेत्र नंं १ प्रतिनिधी सभामा उम्मेदवार बनेका उपाध्यायले शुक्रवार चुनावी प्रचारका क्रममा बाणगंगा क्षेत्रमा जेष्ठ नागरिकलाई सम्मान तथा रकम वितरण गरेका थिए । जुन निर्वाचन आचार संहिता विपरित हो । उपाध्याय संगै कांग्रेस नेता कार्यकर्ताले बाणगंगा नगरपालिका बडा नं. ७ मोतिपुर डाडा स्थित सुकुम्बासी बस्तीमा घरदैलो गर्दै केहि स्थानीय बृद्धहरुलाई माला, दोसल्ला लगाउँदै नगद दिएर सम्मान गरेका थिए । कांगे्रसलाई मत दिन आग्रह गर्दै उपाध्यायले धन वहादुर गुरुंग, नेत्र बहादुर गुरुंग र विर बहादुर विक लगायतलाई खाम भित्र ५ सय रुपैँया राखेर दिइएको थियो । कार्यकर्ताहरुले उनीहरुलाई कांग्रेसलाई मत दिए अझ रकम दिने भन्दै आचार संहिता विपरित कार्य गरेको स्थानीयबासीले जानकारी दिएका छन् ।

स्थानीयबासीहरुका अनुसार उपाध्यायले स्थानिय बृद्धलाई टिका तथा दोसल्ला ओढाई सम्मान गरेका थिए । सम्मान पछी उहा संगै खाममा पैसा लिएर वसेकी स्थानिय कांग्रेस कार्यकर्ता शान्ता दर्लामी मगरले खाम भित्र लुकाएर पैसा दिएकी थिईन । शान्ता स्थानिय तह निर्वाचनमा कांग्रेसकी पराजित वडा सदस्य उम्मेदवार समेत हुन । उपाध्यायको यो दोस्रो पटक आचार संहिता उल्लंघन हो । यस अगाडी होडिंग बोर्ड राखेर प्रचार गरे पछी मुख्य निर्वाचन कार्यालय कपिलवस्तुमा उजुरी परेको थियो । उजुरी परे पछी कार्यालयले बोर्ड हटाउन निर्देशन समेत दिएको थियो । तर बाणंगाको जितपुर चोक देखि बुङ्ची क्याम्पस सम्म उपाध्यायले होर्डिङ्ग बोर्ड झुण्डाएर निर्वाचन कार्यालयको निर्देशनलाई ठाडै चुनौती दिएका छन् ।

निर्वाचन कुसुर तथा सजाय ऐन २०७३ अनुसार धारा २१ अन्र्तगत नगद वा जिन्सी लिन बा दिन नहुने प्रावधान रहेको छ । ऐनमा उम्मेदवार वा निर्वाचन प्रतिनिधी वा अन्य कुनै व्यक्तिले निर्वाचन अवधी भित्र कुनै मतदाता लाई निजको मतदान अधिकार प्रयोग गर्न वा नर्गनको लागी वा मतदानको अधिकार गरे वा नगरे वापत उपहार पुरस्कार ईनाम दान दात्वय वा बकसको रुपमा नगद वा जिन्सी दिन वा दिन नपाईने व्यवस्था रहेको जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुले जनाएको छ । निर्वाचन अधिकृत ज्ञानहरी घिमिरेले आवश्यक प्रमाण सहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा यसबारे उजुरी परे आवश्यक कारवाही गरिने जानकारी दिए । आचार संहिता उलङ्घनका घटना दिनानुदिन बढ्दै गएपनि निर्वाचन अधिकृतको कार्यालयले भने सचेत गराउने बाहेक अन्य कुनै कारवाही प्रक्रिया भने अघि बढाएको छैन ।

नेपाली कांग्रेस निर्वाचन प्रचार प्रसार समितिले उक्त आरोप ठाडै अस्विकार गरेको छ । नेपाली कांग्रेस जिल्ला सदस्य प्रकाश घिमिरेले उक्त दिन उपाध्यायलाई प्रजातान्त्रिक सेनानीहरुलाई सम्मान गर्ने कार्यक्रमको प्रमुख अतिथी बनाइएको र सोहि अनुसार सम्मान गरिएको दाबी गरे । सामान्य सम्मान कार्यक्रममा रकम बाडेको र मतदाता प्रभावित गरेको भन्ने विषय गलत भएको बताउदै घिमिरेले नेता उपाध्यायको चरित्र हत्या गर्ने कार्य बन्द गर्न गरि अर्नगल प्रचार नगर्न बाम गठबन्धन संग आग्रह गरे ।

 

प्रकाशित मिति : १० मंसिर २०७४ आइतबार ००:००  १२ : ०० बजे