१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

मित्रवत व्यवहारमा बलदेव र दीपकुमार



दीपा महत, कपिलवस्तु, १४ मंसिर ।
कपिलवस्तु प्रतिनिधिसभा क्षेत्र नम्बर १ का कांग्रेसका उम्मेदवार दीपकुमार उपाध्यायले मंसिर २८ को पार्टी अगुवा कार्यकर्ता उपस्थित रहेको एक चुनावी सभामा आफ्ना प्रतिष्पर्धी बामगठबन्धनका उम्मेदवार चक्रपाणी खनाल ‘बलदेव’ प्रति निकै नरम रुपमा प्रस्तुत भए । पूर्व भारतका लागि नेपाली राजदुत समेत रहेका उपाध्यायले कार्यकर्ताको विचमा भने,‘ ‘मेरा प्रतिस्पर्धी बलदेव पनि राम्रो मान्छे हो, यस क्षेत्रमा विकासको लागि चाहिन मान्छे हो, हामी दुई भाई विच पटक पटक संगै चुनाव नलड्ने कुराकानी भएको थियो तर राजनीति हो भने जस्तो नहुँदो रैछ, चुनावी मैदानमा छौ, हेरौँ कस्ले जित्छ, हामी नतीजा सहजै स्वकार गर्न तयार छौँ ।’ उम्मेदवार उपाध्याय यसरी एकाएक नरम रुपमा प्रस्तुत भएपछि कांग्रेसका कार्यकर्ता पनि एक छिन सोचमग्न भए । स्थानीय तह दोस्रो चरणको निर्वाचनमा वाणगंगा नगरपालिकामा माओबादी केन्द्र संग चुनावी तालमेल गरेर मेयर पद जितेको कांग्रेस माओबादी केन्द्र प्रति कडा रुपमा प्रस्तुत भएको छैन ।
हालै एक चुनावी रणनितिक बैठकमा एमाले जिल्ला अध्यक्ष झविलाल पोख्रलले चुनाव जित्ने एउटा अचम्मको रणनिति सुनाए । गठबन्धनका साथीहरुले कुनै पनि सभामा विपक्षी पार्टीलाई सक्दो सराप नगर्ने भनेर ? पार्टीमा विभिन्न मतभिन्नता छन्, त्यो सबैलाई थाहा छ तर हामी आवेग, आक्रोसमा आएर अरु पार्टीलाई गालीगलौज नगरौँ अध्यक्ष पोख्रलले भने, ‘यसरी हामी आक्रमक रुपमा प्रस्तुत भयौँ भने चुनाव जित्न गाह्रो हुन्छ ।’ ‘ कांग्रेस प्रति इकिंत गर्दै उनले भने, ‘टीकट वितरण देखि लिएर विगतमा पार्टी अधिवेशन सम्मका अन्तरद्धन्द्ध विपक्षी पार्टीमा देखिन्छन, ति नेता र कार्यकर्ताले हामीलाई भोट दिन सक्छन, तर हामी पार्टीलाई नै गालीगलौज गर्न थाल्यौ भने ति कार्यकर्ताको मन भाडिन सक्छ, त्यसैले सचेत भएर चुनावी प्रचारप्रसारमा लागौँ !’
बामगठबन्धनका साझा उम्मेदवार चक्रपाणी खनाल ‘बलदेव’ पनि दीपकुमार उपाध्याय प्रति नरम हुदै आएका छन । पटक पटक यो ठाउँबाट जित्नुभयो तर विकास हुन सकेन उम्मेदवार बलदेव भन्छन, साथीहरु सत्य बोलौँ विकास भएन अब हामी गर्छौँ विकास । कांग्रेसका मित्रहरु पनि आफ्ना साथीहरु भएको भन्दै बलदेवले विकासका मुद्धा केन्द्रमा जोडतोडले राख्न पनि बामगठबन्धनले जित्नुपर्ने उनको भनाई छ ।
यति मात्र होइन मंसिर १६ गते मनोनयन दर्ताको दिन अरु क्षेत्रका उम्मेदवारहरु विच प्रत्यक्ष जम्काभेट हुँदा पनि नबोल्ने, तर्किने गरेको दृश्य देखिएको थियो । तर प्रतिनिधिसभा क्षेत्र नम्बर १ का कांग्रेस उम्मेदवार उपाध्याय र माओबादी केन्द्रका बलदेव विच अचम्मको सामिप्यता देखियो । मनोनयन दर्ता पश्चात उपाध्यायले पत्रकारहरु विच प्रतिक्रिया दिदै गर्दा बलदेव टुप्लुक्क त्यहि स्थानमा आए । उपाध्यायले प्रतिक्रिया दिदै थिए बलेवलाई देखेपछि प्रतिक्रिया दिनै छाडेर बददेव संग फोटो खिच्न थाले, उनले भने हामी दुईभाई विच साह्रै राम्रो सम्बन्ध छ । संगै प्रतिस्पर्धामा उत्रिएका छौ नजिता कस्तो आउँछ संगै स्विकार गर्दछौँ ।
आसन्न मंसिर २१ को निर्वाचन नजिकिदै जाँदा राजनीतिक दलहरु चुनावी प्रचारप्रसारमा व्यस्त छन । प्रतिनिधिसभाका तीन र प्रदेशसभाका छ निर्वाचन क्षेत्र रहेको जिल्लामा अरु क्षेत्रमा भन्दा प्रतिनिधिसभा १ मा रोचक प्रतिपर्धा देखिने भएको छ । अरु क्षेत्रका उम्मेदवार विच गालीगलौज, नसुहाँउँदो अस्वच्छ प्रतिप्रर्धा चलिरहदा यस क्षेत्रका उम्मेदवारले एक अर्का विच आपसी भाइचाराको सम्बन्ध कायम राख्दै मतदाता रिझाउन व्यस्त देखिन्छन । तुलनात्मक रुपमा एमालेको राम्रो पकड रहेको यस क्षेत्रमा दोस्रो संविधानसभाको निर्वाचनमा दुवै (उपाध्याय र बदलेव) पराजीत भएका थिए । यहाँ एमालेका बलराम अधिकारीले चुनाव जितेका थिए । अहिले एमालेले प्रदेशसभामा मात्र उम्मेदवारी दिएको कारण एमालेका मतदाता आफ्नो पक्षमा कसरी पार्ने भन्ने कसरतमा कांग्रेस लागेको देखिन्छ भने माओबादी केन्द्रले आफ्नो अवस्था कमजोर भैरहेको बेला एमालेका मतदाता रिझाउदै कांग्रेस भित्रको अन्तरद्धन्द्धको फाइदा उठाउँने पक्षमा छ ।
कांग्रेसका उपाध्याय पञ्चायत कालदेखि पटक पटक जिल्लाबाट चुनाव जित्दै आएका छन । पूर्व मन्त्री र भारतको लागि नेपाली राजदुत भएका उपाध्याय कांग्रेसको केन्द्रिय राजनीतिमा राम्रै पहुँच भएका उम्मेदवार हुन । विकास निर्माणको सवालमा केहि नगरेको आरोप उनि माथि लाग्दै आएपनि मिठो बोलीमा कार्यकर्ता रिझाउनले सामथ्र्य उनमा छ । चुनाव जित्ने गरि रणनीतिक बनाउनका उनि एक नम्बरमा पर्दछन । हेरक भाषणमा मानवता, धार्मिक्त्वको बारेमा बोलेर मानिसको मानसिकमा सकारात्मक सोच ल्याउन सक्ने उपाध्याय सबैको लागि प्रिय पात्र भएका छन ।
बामगठबन्धनका उम्मेदवार बलदेव पनि माओबादी केन्द्रका केन्द्रिय स्तरका नेता हनु । प्रधानमन्त्री प्रचण्डको समयमा प्रमुख राजनैतीक सल्लाहकारको भुमिका निर्वाह गरिसकेका बलदेव पूर्व जनमुिक्त सेनाका डेपुटी कमाण्डर थिए । स्पष्ट बोल्ने, जनयुद्धताका सम्पूर्ण सम्पत्ति पार्टीकरण गरेर राजनीतिमा होमिएका बलदेव प्रति यस क्षेत्रका जनताको सहानुभूती छ । स्थानीय तहको निर्वाचनलाई आधार मान्ने हो भने करिब ४ हजार मतले बामगठबन्धन अगाडी देखिन्छ । त्यसो हुँदा पनि उनि चुनाव जित्नेमा ढुक्क जस्तै छन ।

प्रकाशित मिति : १४ मंसिर २०७४ बिहिबार ००:००  २ : ०९ बजे