८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

बाम गठबन्धनको घरदैलो



बुटवल, १५ मंसिर ।
बुटवलका ब्यवसायीले पूर्वाधार विकासंगै रुपन्देहीलाई प्रदेशको राजधानी बनाउन बाम गठबन्धनका उम्मेदवारलाई विजयी बनाउने प्रतिबद्धता जनाएका छन् ।
अरु दलका उम्मेदवारका तुलनामा बाम गठबन्धनका उम्मेदवारहरुसंग विकास र समृद्धिका साथै रुपन्देहीलाई प्रदेशको राजधानी बनाउने विषयमा स्पष्ट अडान र दृष्टिकोण रहेकालो यसपटक बाम उम्मेदवारलाई नै भोट हाल्ने प्रतिबद्धता जनाएका हुन् ।
बुधवार चुनाव प्रचारका लागि घरदैलोमा हिंडेका उम्मेदवारहरु विष्णु प्रसाद पौडेल र भोजप्रसाद श्रेष्ठलाई शुभकामना दिंदै मध्य वुटवलका ब्यवसायीले बुटवललाई प्रदेशको राजधानी बनाउन नसके अहिलेसम्म गरेका पूर्वाधार विकासको कुनै अर्थ नरहने जिकीर गरे ।
बुटवलको पुष्पलालपार्कका ब्यवसायी हरि कंडेलले बुटवललाई प्रदेशको राजधानी बनाउने विषयमा बढी प्रतिबद्ध र स्पष्ट रहेकाले अधिकांश ब्यवसायीहरु बाम उम्मेदवारकै पक्षमा रहेको बताए ।
अर्का ब्यवसायी सरिता श्रेष्ठले बुटवलवासीको मूख्य चासो प्रदेशको राजधानीमा रहेकाले वुटवललाई प्रदेशको राजधानी बनाउनका लागि बाम उम्मेदवारलाई सघाउने प्रतिबद्धता जनाइन् ।
मुलुककै मध्यभागमा रहेको बुटवल ब्यवसायीक केन्द्रका रुपमा समेत विकास हुंदै गएकाले प्रदेशको राजधानी यहां बन्न नसके सवै हिसावले कमजोर हुने आशंका ब्यवसायीहरुले गर्दै आएका छन् । ब्ुटवलका प्रतिष्ठित ब्यवसायी सतिषचन्द्र कषौधनले प्रदेशको राजधानी बनाउने र बुटवल सहित सिंगो रुपन्देहीलाई कायापलट गर्ने भिजन नेताद्धय विष्णु पौडेल र भोजप्रसाद श्रेष्ठमा मात्र रहेकाले उहांहरुलाई जिताउन यहांका ब्यवसायी आतुर रहेको प्रतिक्रिया दिए ।
घरदैलोका क्रममा केही ब्यवसायीहरुले अन्तरराष्ट्रिय सम्मेलन केन्द्र छिटो सम्पन्न गर्न,स्थायी प्रदर्शनी केन्द्रलाई शीघ्र निर्माण गर्न र यस क्षेत्रका लागि अत्यावस्यक जस्तै रहेको कालिगण्डकी—तिनाउ डाइभर्सन परियोजना छिटो शुरु गर्न र सिद्धवावा सडकको वैकल्पिक उपाय खोज्न माग गरे । कपडा ब्यवसायी रामप्रसाद ज्ञवालीले सिद्धवावाको जोखिमपूर्ण सडकका कारण पहाडी क्षेत्रसंगकोे ब्यवसायीक गतिविधिमा कमी आएको भन्दै यसको विकल्प छिटो खोज्न माग गरे । सो अवसरमा मतदातासंग कुरा गर्दै प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार विष्णु पौडेलले आफ्नो वांकी जीवन रुपन्देहीकै विकासका लागि खर्चने विश्वास दिलाउंदै रुपन्देहीमा निर्माणाधिन सवै विकासे आयोजना छिटो सम्पन्न गर्न जनस्तरबाट समेत खवरदारी गर्न आग्रह गरे । नेता पौडेलले कालिगण्डकी—तिनाउ डाइभर्सन पांच वर्षभित्र सम्पन्न गर्ने आफ्नो दृढता ब्यक्त गरे । उनले सिद्धवावाको पहिरोग्रस्त सडकको विकल्पको रुपमा पहाडबाट खसेको ढुंगा वा पहिरोले नभेट्ने गरी चिडियाखोलादेखि नै नदीको ठीक माथिबाट ४ किलोमिटर लामो पुल बनाउने विषयमा अध्ययन शुरु भएको जानकारी दिए । त्यसो हुंदा उक्त पुल नमुना पुल बन्ने र यहांका अधिकांश आयोजना मुलुककै लागि नमुना आयोजना बनाउन सकिने दावी पौडेललको छ ।
रुपन्देही क्षेत्र नं २ प्रदेशसभा २ का उम्मेदवार भोजप्रसाद श्रेष्ठले यस क्षेत्रको विकास र समृद्धिका लागि आफुहरुसंग दीर्घकालिन योजना र अनुभव समेत रहेकाले जिल्लालाई विकासको चरम विन्दूमा पुर्याउने आश्वासन दिए । उनले बुटवलको मूख्य बजार मानिने अमरपथ र आसपासको ब्यवसायलाई अझ बढी ब्यवस्थित गर्ने बताए । उनले बुटवललाई सोंचेजति हरित शहरको रुपमा विकास गर्न नसकिएको भन्दै अब सार्वजनिक जग्गाहरुलाई संरक्षण गरेर ग्रिन पार्क बनाउने,प्रत्येक घरका सदस्यहरुको योगदान रहनेगरि वोट विरुवा हुर्काउने अभियान थाल्ने बताए ।

प्रकाशित मिति : १५ मंसिर २०७४ शुक्रबार ००:००  ३ : १८ बजे