१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

रामपुर खरका छाना रहित नगर हुने



रामपुर, पाल्पा, ४ पुस ।
पाल्पा रामपुर नगरपालिकामा खरका छानारहित नगर कार्यक्रम शुरु भएको छ । नगरपालिकालाई सुन्दर र नमूना नगरका रूपमा चिनाउन नगरपालिकाले विशेष प्राथमिकतामा राखेर खरका छानारहित नगर कार्यक्रम सञ्चालन गरेको हो ।

स्थानीयवासीले नगरपालिकामा पेश गरेको आवेदनका आधारमा क्रमैसँग अबको पाँच वर्षभित्र रामपुर नगरपालिकालाई खरका छानामुक्त नगर बनाउने योजनाका साथ यो कार्यक्रमलाई तदारुकता दिइएको छ ।

खरका छाना रहित नगर कार्यक्रममा ७६८ घरधुरीले आवेदन पेश गरेको नगर प्रमुख रमणबहादुर थापाले बताउनुभयो । संकलित निवेदनका आधारमा अब छिट्टै नै प्राविधिक सहितको कर्मचारी र जनप्रतिनिधिको टोली गाउँगाउँमा पुगेर वास्तविकता बुझेर मात्र अनुदानस्वरूप कर्कटपाता दिने तयारीमा रहेको नगर प्रमुख थापाले बताउनुभयो ।

आर्थिक वर्ष २०७४÷७५ मा खरका छाना रहित नगर कार्यक्रमका लागि रु ५० लाख रकम विनियोजन गरिएको छ । अझै पनि यहाँका नगरवासी आर्थिक अभावले खरका छानामुनि बसेर जीविका चलाउँदै आइरहेका छन् ।

संकलित आवेदनका आधारमा गरिब तथा विपन्न, दलित समुदायलाई कर्कटपाता राख्नका लागि छिटो अनुदान उपलब्ध गराउने नगरपालिकाले जनाएको छ । नगरपालिकाका जनप्रतिनिधिले शुरु गरेको यो कार्यक्रमबाट त्यहाँका नगरवासी उत्साहित बनेका छन् । रासस

प्रकाशित मिति : ४ पुस २०७४ मंगलबार ००:००  ३ : ०२ बजे