७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

तुलसीपुरमा हेल्लो मेयर टोलफ्री सेवा सुरु



गोपाल शर्मा, दाङ, पुस ।
तुलसीपुर उपमहानगरपालिकामा हेल्लो मेयर टोलफ्री सेवा सुरु गरिएको छ । नगरको काम थप प्रभावकारी, जनताप्रति उत्तरदायी र जवाफदेही बनाउन सेवा सञ्चालन गरिएको मेयर घनश्याम पाण्डेले बताउनुभयो ।
उपमहानगरले पत्रकार सम्मेलन आयोजना गरि हेल्लो मेयर टोलफ्री नम्बर १६६०८२५२००० सञ्चालनमा आएको जानकारी गराएको छ । बिहीबार पुस ७ गते देखि औपचारिक रुपमा सुरु भएको टोलफ्री सेवा २४ घण्टा सुचारु रहने बताउँदै मेयर पाण्डेले भन्नुभयो, ‘सबै खाले गुनासा सेवाग्राही तथा नगरवासीले सिधै मेयरसँग राख्न सक्ने छन् ।’
गुनासो सम्बोधन तत्काल गरिने र मासिकरुपमा उपलब्धी सार्वजनिक गरिने समेत उहाले बताउनुभयो । तुलसीपुर उपमहानगरपालिकाले हेल्लो मेयर तुलसीपुर फेसबुक, ट्वीटर, र जिमेल सेवा पनि सुरु गरेको छ । यी सेवाले जनताका आपतकालिन आवश्यकता र नगरका समस्या समाधान गर्न सहयोग पुग्ने अपेक्षा राखिएको उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत टोपेन्द्र बहादुर केसीले बताउनुभयो ।
साथै नगरलाई नो क्यासको अवधारणाबाट अगाडी बढाउन लागिएको समेत जानकारी गराइएको छ । कार्यालय परिसरमै बैंकिङ सेवा सुरु गरेर आर्थिक कारोबार समेत चेकबाट गर्ने तयारी भएको मेयर पाण्डेले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ८ पुस २०७४ शनिबार ००:००  २ : ४१ बजे