५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

स्कुलमा ‘पोषिलो’ चामल



काठमाडौँ, ११ पुस ।
सरकारले नौ जिल्लाका स्कुलमा दिवा खाजाअन्तर्गत हाल दिइँदै आएको हलुवा विस्थापित गरेर पोषक तत्त्व मिसिएको चामल (फोर्टिफाइड राइस) दिने भएको छ ।

डोटी, अछाम, बाजुरा, बझाङ, डडेलधुरा, बैतडी, दार्चुला, जाजरकोट र रुकुम गरी ९ जिल्लाका स्कुलमा उक्त कार्यक्रम सञ्चालन हुने भएको छ । आयोडिनको कमीले गलगाँड देखिने समस्या कम गर्न नुनमा अनिवार्य रूपले आयोडिन मिसाएर प्रचलनमा ल्याएजस्तै चामल लगायतका खाद्य पदार्थमा सूक्ष्म पोषक तत्त्व मिलाएर उपयोगमा ल्याउने प्रक्रियालाई ‘फोर्टि्फिकेसन’ भनिन्छ । कान्तिपुर दैनिकमा अतुल मिश्रले समाचार लेख्नुभएको छ ।

हाल मुलुकका केही जिल्लाका स्कुलमा दिवा खाजाअन्तर्गत विद्यालयमै हलुवा पकाएर विद्यार्थीहरूलाई खुवाउने गरिन्छ । यसरी दिनहुँ एक विद्यार्थीलाई ११० ग्रामको ३९० क्यालोरी दिवा खाजा (हलुवा) खुवाइन्छ । ‘पाइलट प्रोजेक्टका रूपमा दैलेखमा गत वर्षदेखि नै दिवा खाजा हलुवाको सट्टा फोर्टिफाइड राइस दिन थालिएको हो,’ शिक्षाका लागि खाद्य कार्यक्रमका निर्देशक विष्णु भण्डारीले भने, ‘यसको राम्रो परिणाम देखिएपछि थप ९ जिल्लामा विस्तार गर्न लागिएको हो ।’
यस अन्तर्गत प्रत्येक विद्यार्थीका लागि ८० ग्राम थप पोषक तत्त्व मिसिएको चामल, २० ग्राम दाल, १० ग्राम तेल र २ ग्राम आयोडिन मिसिएको नुनबाट जाउलो, दालभात वा फ्राइड राइस बनाएर खुवाइने छ ।

प्रकाशित मिति : ११ पुस २०७४ मंगलबार ००:००  १ : ४५ बजे