१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

देउवाले ताजा जनादेशको अपमान गरे : ज्ञवाली



शिवलाल सुवेदी, गुल्मी १६ पुस ।
नेकपा (एमाले)का सचिव तथा गुल्मी क्षेत्र नम्बर १ का सासंद प्रदिप कुमार ज्ञवालीले अहिलेको सरकारले ताजा जनादेशको अपमान गरेको बताए । चुनावको मत परिणाम सार्वजनिक भएको पन्ध्र बिस दिन बितिसक्दा समेत सरकारले कुर्चीमै रमिता देखाई रहेको आरोप लगाए ।
आइतबार सदरमुकाम तम्घासमा प्रेस चौतारी नेपाल गुल्मीले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै नेता ज्ञवालीले यस्तो बताए हुन् । ‘आफुलाई लोकतन्त्रबादी बताउने नेपाली कांग्रेस र सभापतिको नैतिकता देखियो,’उनले भने,‘देउवा जी विभिन्न बहाना बाजी गरेर कुर्ची छाड्न चाहँदैनन् ।‘ ज्ञवालीले समानुपातिक तर्फको नतिजा सार्वजनिक नगर्ने निर्वाचन आयोग र सरकारको गतिविधी बिडम्बनापूर्ण रहेको प्रतिक्रिया दिए । निर्वाचन आयोगलाई कुनै दलको शाखा कार्यालय जस्तो नबनेर तटस्थ ढङ्गले काम गर्न समेत उनले आग्रह गरे । ‘निर्वाचन आयोग कुनै राजनीतिक दलपट्टि लागेर समानुपातिकतर्फको नतिजा निकाल्न आनाकानी गर्नु लज्जास्पद विषय हो,’उनले भने, ‘आयोग जस्तो निकाय र स्वतन्त्र र निष्पक्ष हुनुपर्छ ।’ उनले संविधान र कानुनको अपव्याख्या गरेर अहिलेको सरकारले दृघकालिन असर पर्ने निर्णयहरु गरिरहेको बताए । ‘सरकारले सहमती भन्दा निहँु खोजिरहेको छ,’ज्ञवालीले भने,‘कुनै निर्णय पनि बामगठबन्धनलाई मान्य छैनन ।’
आलोपालो सरकार गठनको बिषयमा पत्रकारले राखेको प्रश्नको जवाफ दिदै एमाले सचिव प्रदिव ज्ञवालीले त्यो कदापी हुन नसक्ने बताए । सरकार गठन पछि मन्त्रीहरुको कार्यशैलीका आधारमा कार्यविभाज हेरफेर भएपनि सरकार गठनमा आलोपालो नहुने दावी गरे । ‘आलोपालो भनेर एकता कसरी हुन्छ ? एउटै पार्टी भएपछि सरकारका मन्त्रीहरुको जिम्मेवारी हेरफेर होला,’उनले भने,‘ आलोपालो भन्नु, एकताबबाट भाग्न खोज्नु हो ।’ गुल्मी क्षेत्र नं १ का सांसद प्रदिव ज्ञवालीले माओवादी र आफुहरुबिच कुनै सैद्धान्तिक असहमती नभएको बताए । उनले संंविधानमा समेत आफुहरुको बिचार प्रतिबिम्वित भएकाले संगठनको संरचना र इतिहासको बिषयमा रहेका केहि असहमती पनि छिट्टै टुङ्गो लाग्ने बताए । उनले सरकार गठन अगाडी नै एकताको प्रारुप तयार हुने बताए । साथै ज्ञवालीले प्रदेशको राजधानी र प्रमुख तोक्ने बिषयलाई सडकमा बिसुन पोख्नु आवश्यक नरहेको स्पष्ट पारे ।

प्रकाशित मिति : १६ पुस २०७४ आइतबार ००:००  १२ : ५८ बजे