३ चैत्र २०८१, सोमबार | Mon Mar 17 2025

उपमहानगर र स्थानीयबासी विच फोहोरको विषयमा विवाद



दाङ, पुस ।
दाङको घोराही उपमहानगरपालिकाले बजार क्षेत्रको फोहोर फाल्दै आएको क्षेत्रलाई लिएर स्थानीय बासिन्दा र उपमहानगर बिच विवाद सुरु भएको छ ।
उपमहानगरकै वडा नम्बर १६ करौतीडाँडामा रहेको डम्पिङ साईडमा २०६२ सालदेखि फोहोर फाल्दै आएकोमा उपमहानगरको क्षेत्र बिस्तार सँगै जम्मा हुने फोहोरले आफूहरु मर्कामा परेकाले त्यसको विकल्प खोज्न स्थानीय बासिन्दाले आग्रह गरेका छन् ।
उपमहानगरपालिकाले भने त्यस क्षेत्रमा देखिएका समस्या समाधान गर्न तयार रहेको तर स्थानकै विकल्प भने खोज्न नसकिने बताएको छ । ल्याण्डफिल साइडको विकल्प खोज्न दबाब दिँदै आएका स्थानीय बासिन्दाले फोहोर फाल्ने स्थानको मुल गेटमा ताला लगाउने र नगरपालिकाले प्रहरीको सहयोगमा ताला फोड्ने क्रम सुरु भएको छ ।
घोराही करौतीडाँडामा रहेको ८६ बिघा जमिनमा प्राङ्गारिक मल उत्पादन गर्ने गरी १ करोड २२ लाख रुपैयाँ खर्च गरी डम्पिङ साइड निर्माण गरेको छ ।
गल्ने र नगल्ने फोहोर छुट्टाएर गल्ने फोहोरबाट प्राङ्गारिक मल उत्पादन गरी बिक्री गर्ने योजनाका साथ सुरु गरिएको डम्पिङ साइडको योजना सफल हुन नसकेपछि अहिले फेरि फोहोरबाट बायो ग्यास निकाल्ने नयाँ योजना सुरु गर्न थालेकोे छ । घोराही बजारबाट दैनिक झण्डै १५ टन फोहोर संकलन हुँदै आएको छ ।

प्रकाशित मिति : १७ पुस २०७४ सोमबार ००:००  २ : १९ बजे