४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

नेपालगञ्ज उपमहानगरपालिकाको गजवको निर्णय



बाँके ।
नेपालगञ्ज उपमहानगरपालिकाले नागरिकता लगायतका अन्य सिफारिस निःशुल्क गर्ने निर्णय गरेको छ ।
पहिले १५ रुपैयाँ रहेको नागरिकता शुल्क वृद्धि गरेर एकसय रुपैयाँ र फर्मको थप १० रुपैयाँ लिने गरिएकोमा अबदेखि नागरिकता सिफारिस निःशुल्क गर्ने कार्यपालिका बैठकले निर्णय गरेको कार्यबाहक मेयर प्रमोद रिजालले जानकारी दिनुभयो ।
यसैगरी स्वास्थ्य उपचार सिफारिस निःशुल्क गर्ने निर्णय भएको छ । नगरकार्यपालिकाले वैदेशिक बाहेक अन्य छात्रवृत्ति सिफारिस पनि निःशुल्क गर्ने निर्णय गरेको छ ।
आम नागरिकको राय सुझावका आधारमा नागरिकता लगायतका केही सिफारिस निःशुल्क गर्ने निर्णय गरिएको कार्यवाहक मेयर रिजालले बताउनुभयो ।
बाँकेका स्थानीय तहले नागरिकता सिफारिसको दस्तुर एकाएक वृद्धि गरेपछि नागरिकहरुले चर्को आलोचना गरेपछि खजूरा गाउँपालिकाले वृद्धि गरेको सिफारिस शुल्क घटाएको छ ।
यसैगरी सडकमा पार्किङ गरे वापत् अब कुनै पनि शुल्क नलिइने भएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले सडकमा पार्किङ गरे वापत् सर्वसाधारणसँग शुल्क लिने तयारी गरेपनि अहिलेलाई स्थगित गरेको जनाएको छ ।
उपमहानगरपलिकाले नगरका ५० ठाउँमा पार्किङ्गस्थल तोकेर शुल्क लिने तयारी थालेकोमा नगरवासीबाट त्यसको सकरात्मक प्रतिक्रिया नआएपछि उपमहानगरपालिकाले शुल्क नउठाउने निर्णय गरेको हो ।
सबैखाले यातायातका साधन मार्किङसहितको पार्किङस्थलमै व्यवस्थापन गर्ने गरि जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई जिम्मेवारी दिइएको छ ।
सडकको नाला छाडेर निश्चित सडक क्षेत्र पार्किङ्गका लागि व्यवस्था गरिएको छ । नगरका १९ ठाउँमा कार, जीप र २८ ठाउँमा मोटरसाइकलका लागि पार्किङ्ग क्षेत्र छुट्याइएको उपमहानगरपालिकाले जनाएको छ ।
बैठकले राँझा विमानस्थललाई अन्तर्रा्ष्ट्रिय विमानस्थल बनाउन जग्गा खोजी गरी अधिग्रहण गर्न र नगरमा रहेका केही सरकारी भवन उपमहानगरपालिकालाई हस्तान्तरण गर्न वडा नं १० का अध्यक्ष विन्दु भुषण बस्नेतको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ ।
यस्तै धम्बोझीमा आकाशे पूल (फलाई ओभर) को डिपीआर निर्माण गर्न सूचना आह्वान गर्ने पनि निर्णय गरिएको छ ।

प्रकाशित मिति : १२ भाद्र २०७५ मंगलबार ००:००  १ : ०६ बजे