१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

उद्योगमन्त्री भेट्न कपिलवस्तुको एक टोली काठमाण्डौं



काठमाडौं ।

व्यापार संघ कपिलवस्तुले साना तथा घरेलु उद्योग कार्यालयको फर्म नविकरण खुलाउन उद्योगमन्त्री मात्रिका प्रसाद यादवलाई आग्रह गरेको छ । व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोखरेल नेतृत्वको टोलीले उद्योगमन्त्री यादवको कार्यकक्षमा भेटघाट गर्दै घरेलु उद्योगको नविकरण छिटोभन्दा छिटो खुलाइदिन आग्रह गरेका हुन् ।

पूर्वराज्यमन्त्री ईश्वर दयाल मिश्र, कपिलवस्तु क्षेत्र नं. ३ बाट प्रदेशसभा सदस्य उम्मेदवार जाबेद आलम खाँ पत्रकार मनोज कुमार ओझासहितको टोली उद्योग मन्त्रालय पुगी मन्त्री यादवसँग यस्तो आग्रह गरेका हुुन ।

साना तथा घरेलु उद्योग कार्यालयले नविकरण अवधिभन्दा तीन महिना म्याद नाघेका फर्मले जरिवाना तिर्दा समेत नविकरण नगरिदिँदा उद्योगी व्यापारीहरुले दुःख भोग्नुपरेको व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोखरेलले गुनासो गरे । व्यापारीहरुको समस्यालाई मध्यनजर गर्दै फर्म नविकरण खुलाइदिन उद्योगमन्त्री यादवसँग आग्रह गरिएको पोखरेलले बताए ।

प्यानको नविकरण म्याद नाघेपनि जरिवाना तिरेपछि नविकरण भएको तर घरेलुले नविकरण नगर्दा निकै समस्या बेहोर्नुपरेको व्यापार संघ अध्यक्ष पोखरेलले बताए । फर्म नविकरण नहुँदा बैंकिङ कारोबार समेत गर्न नपाई कपिलवस्तुका ५ हजार व्यापारीहरुको व्यवसाय धरापमा परेको उनले जनाए । तीन महिना अवधि नाघेका नेपालभर झण्डै एक लाख व्यापारी नविकरण गर्न नपाएको उनले बताए ।

डेलिगेसन टोलीलाई उद्योगमन्त्री यादवले एक महिनाभित्र साना तथा घरेलु उद्योग कार्यालयको नविकरण खुलाउन मन्त्रीपरिषद्मामा पहल गर्ने आश्वासन दिए । नविकरण नभएकै कारण व्यापार व्यवसायमा परेको समस्यालाई ध्यानमा राख्दै कम्तीमा ३ महिनाका लागि नविकरण खुलाउन पहल गर्ने मन्त्री यादवले प्रतिबद्धता जाहेर गरेका छन् ।

प्रकाशित मिति : १८ भाद्र २०७५ सोमबार ००:००  ७ : ५६ बजे