४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

दाङका स्थानीय तह प्रविधिमैत्री बन्दै



तुलसीपुर ।
दाङका स्थानीय तह प्रविधिमैत्री बन्दै गएका छन् । पहिले कागजी रूपले कामकाज हुने गरे पनि पछिल्लो समय स्थानीय निकायका प्रतिनिधिले प्रविधिको उपयोग गरी काम गर्न थालेका छन् । जिल्लाका घोराही, तुलसीपुर उपमहानगरपालिका र लमही नगरपालिकाले प्रविधिमैत्री सेवा थालेका छन् । नागरिकलाई सरल, सहज र छिटो छरितो तरिकाले सेवा दिने भन्दै स्थानीय तहले वडास्तरबाटै अनलाइन मार्फत एकीकृत सम्पत्ति कर सङ्कलनदेखि अन्य सेवा दिन थालेका छन् ।
सामाजिक सुरक्षा भत्ता, जग्गा तथा अन्य राजश्व सङ्कलन, पञ्जिकरणलगायत काम अनलाइन मार्फत गर्न थालिएको छ । स्थानीय तहले कर्मचारीलाई प्रविधिमैत्री सेवा दिन तालिम प्रदान गरेका छन् ।
सेवालाई कागजरहित बनाउन धेरैजसो वडामा इन्टरनेटदेखि विद्युतीय उपकरण जडानको काम भइरहेको घोराही उपमहानगरपालिकाले जनाएको छ । वडा कार्यालयबाट अनलाइन मार्फत ज्येष्ठ नागरिक, एकल महिला, दलित, अपाङ्ग तथा पोषण भत्ता वितरण, नाम दर्ता, लगत कट्टा, परिचयपत्र दिनेलगायत काम भइरहेको छ ।
तुलसीपुरलाई स्मार्ट सिटी बनाउने तयारीमा जुटेको तुलसीपुर उपमहानगरपालिकाले आफ्नो सेवालाई प्रविधिमैत्री बनाउन थालेको छ । सबै वडाबाट अनलाइनमार्फत कर सङ्कलन र घटना दर्ता गर्न थालेको वरिष्ठ वित्तीय अधिकृत ललित घर्तीले जानकारी दिनुभयो । कार्यालयदेखि वडा तहसम्म प्रविधिमैत्री सेवा दिने योजना बनाएको छ ।
यस्तै लमही नगरपालिकाले सबै वडाबाट कर सङ्कलन र घटना दर्ता शुरु गरेको छ । नगरपालिकाका प्रमुख कुलबहादुर केसीका अनुसार सबै वडालाई प्रविधिमैत्री बनाउँदै लगिएको छ । (रासस)

प्रकाशित मिति : २१ भाद्र २०७५ बिहिबार ००:००  १ : ५२ बजे