२० बैशाख २०८१, बिहिबार | Thu May 2 2024

शिवराजले फुसको छानो हटाएर जस्तापाता लगाईदिने



मायादेवी अनलाइन, कपिलवस्तु ।
कपिलवस्तुको शिवराज नगरपालिकाले यस बर्ष फुसको छाना हटाउने अभियान सञ्चालन गर्ने भएको छ । नगरपालिकाले वडा नं. ८ बाट फुसको छाना हटाउने अभियान चलाउने भएको हो ।
वडामा रहेका दलित, गरिब र अतिविपन्न घरपरिवारको फुसको छाना हटाई जस्तापाता लगाउने अभियान यस बर्ष थालनी गरिने नगर प्रमुख नेत्रराज अधिकारीले जानकारी दिनुभयो । यो अभियानका लागि नगरपालिकाले २० लाख बजेट विनियोजन गरेको उहाले जानकारी दिनुभयो ।
नगरपालिका भित्र रहेका सबै फुसका घर हटाई जस्तापाता लगाउने योजना भएपनि बजेट अभावले यो बर्ष एउटा वडालाई मात्र छानिएको उहाले बताउनुभयो ।
बर्खा सकिए संगै वडा भित्र कति घरधूरी फुसको छानो भएका छन्् तथ्याङ्क संकलनको काम थालिने नगर प्रमुख अधिकारीको भनाई छ । वडा अध्यक्ष, सदस्य र टोलविकास संस्थाबाट सिफारिस भएर आए पछि नगरपालिकाले काम थाल्ने उहाले बताउनुभयो ।
जिल्लाको पश्चिम क्षेत्रमा अवस्थित शिवराज नगरपालिका आगलागीको उच्च जोखिम भएको क्षेत्रमा पर्दछ । हरेक बर्ष गर्मियाममा आगलागीबाट करोडौको क्षति हुदै आएको छ । नगरपालिकाले फुसको छानो हटाएर जस्तापात दिए संगै आगलागीको घटनामा पनि न्यूनिकरण आउने नगरपालिकाको अपेक्षा छ ।

प्रकाशित मिति : २२ भाद्र २०७५ शुक्रबार ००:००  ३ : ३० बजे