८ असार २०८१, शुक्रबार | Fri Jun 21 2024

उन्नाइस वडा सचिवविहीन



दाङ ।
दाङका १०० वडामध्ये अझै १९ वडा सचिवविहीन अवस्थामा छन् । शहरी क्षेत्रका वडामा वडा सचिव पुगे पनि ग्रामीण भेगका वडामा वडा सचिव पुग्न सकेका छैनन् ।
दुई उपमहानगरपालिका, एक नगरपालिका र सात गाउँपालिका रहेको जिल्लामा दुवै उपमहानगरपालिका, दङ्गीशरण र शान्तिनगर गाउँपालिकाका सबै वडामा सचिव पुगेका छन् । लमही नगरपालिकाका नौ वडामध्ये १, २, ४, ५ र ९ नं वडा सचिवविहीन छन् ।
सचिव नआएको अवस्थामा ती वडामा अहिले करारमा नियुक्त भएका कर्मचारीले काम चलाइरहेको र केही वडामा खरिदारलाई सचिवको जिम्मा दिइएको लमही नगरपालिकाका कार्यकारी अधिकृत गेहेन्द्रबहादुर डाँगीले बताउनुभयो ।
गढवा गाउँपालिकाको तीन वडा सचिवविहीन छन् । ती वडा हेर्ने जिम्मेवारी लेखापाललाई दिइएको गाउँपालिकाका अध्यक्ष सहजराम यादवले जानकारी दिनुभयो । राजपुर गाउँपालिकाका पाँच वडा सचिवविहीन छन् ।
यस्तै राप्ती गाउँपालिकाका दुई वडामा मात्रै सचिव कार्यरत छन् भने सात वडा अझै सचिवविहीन छन् । सचिव नपुगेका सबै ग्रामीण भेगका वडा हुन् । कुनैमा खरिदारलाई वडा सचिवको जिम्मेवारी दिइएको छ भने कुनैमा एउटै सचिवले दुई वडा हेर्नुपर्ने बाध्यता छ ।
वडा सचिव नहुँदा योजना तर्जुमा गर्न, वडाको रिपोर्टिङ गर्न, वडा कमिटीको बैठक गर्न, पञ्जिकरण लगायतका काम गर्न समस्या भएको छ । स्थानीय तहले जनप्रतिनिधि पाएको डेढ वर्ष बिते पनि वडामा कर्मचारी नपुग्दा काम गर्न कठिनाइ भएको छ । (रासस)

प्रकाशित मिति : २६ भाद्र २०७५ मंगलबार ००:००  ३ : १७ बजे