८ असार २०८१, शुक्रबार | Fri Jun 21 2024

थारु भाषा कामकाजमा आएन



रासस, घोराही ।
घोराही उपमहानगरपालिकाको गत पुस २३ गतेको कार्यपालिका बैठकले उपमहानगरबाट हुने कामकाजी भाषालाई थारु भाषा बनाउने निर्णय गरे पनि कार्यान्वयनमा आएको छैन ।

उक्त निर्णयलाई २०७४ माघ १ गतेदेखि लागु गर्ने भनिएको थियो । उपमहानगरपालिकाका प्रमुख नै थारु समुदायको हुनु र यहाँको अधिकांश जनसङ्ख्या थारु हुँदा उपमहानगरले यस क्षेत्रको सरकारी निकायमा थारु भाषालाई कामकाजको भाषा बनाउनु स्वाभाविक मानिन्छ ।

उपमहानगरपालिकाका सूचना अधिकृत भीमप्रकाश चौधरी थारु भाषा लागु भए पनि त्यसको कार्यान्वयन सरोकारवालाबाट हुन नसकेको बताउनहुन्छ । थारु भाषाप्रति चासो र चिन्ता व्यक्त गर्नेहरू तथा स्वयं थारु समुदाय नै यसको उपयोगमा लाग्नुपर्ने उहाँको भनाइ छ । आफू उपमहानगरको सूचना अधिकृत भएयता थारु भाषामा निवेदन लिएर एक जना पनि नआएको उहाँले बताउनुभयो । साथै थारु भाषामा बोल्न चाहनेहरू पनि खासै देखिएका छैनन् ।

स्वयं थारु समुदायका शिक्षित व्यक्तिले नै पछिल्लो समय थारु भाषा बिर्सँदै जानु, थारु भाषा बोल्नेहरू घट्नु, आफ्नो भाषासंस्कृतिको महत्वप्रति नयाँ पुस्ता चनाखो नहुँदा नै उपमहानगरको कदमले सार्थकता पाउन नसकेको उहाँको भनाइ छ ।

घोराही वडा नम्बर ३ मा एक युवकले क्लब दर्ताका लागि थारु भाषामा एउटा निवेदन दिनेबाहेक उपमहानगरका १९ वटै वडामा अहिलेसम्म एउटा पनि थारु भाषामा निवेदन पर्न सकेको छैन ।

प्रकाशित मिति : २७ भाद्र २०७५ बुधबार ००:००  २ : ०५ बजे