१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

रोल्पाका ९ स्थानीय तहमा बैंक, सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो



खेम बुढा, रोल्पा ।

गाउँमा बैंक नहुँदा समस्या भोगिरहेका रोल्पाका स्थानीय तहलाई अहिले सहज भएको छ । हरेक स्थानीय तहमा बैंक पुगेपछि कारोबार सहज भएको हो । गत आर्थिक वर्षमा रोल्पाका गाउँपालिकाले बैंकिङ कारोबार लिबाङमा रहेका बैंकबाट नै गर्नुपरेको थियो ।

गाउँपालिकाका कर्मचारीको तलब भत्ता मात्र होइन सम्पूर्ण विकास बजेटका लागि सबै उपभोक्ताले लिबाङ धाउनुपर्दा हैरानी थियो । उपभोक्ता समितिले खाता खोल्न र भुक्तानी लिन सदरमुकाम पुग्नैपर्ने अवस्थाले समय र खर्चको वर्वादी झेल्नुपरेको थियो । यद्यपि, गाउँपालिकामा खुलेका बैंकले ठूलो रकमको कारोबार नगर्दा समस्या उब्जिएको छ ।

गत आर्थिक वर्षको अन्त्यतिर माडी गाउँपालिकाको घर्तीगाउँ बजारमा नेपाल बैंकको शाखा स्थापना भयो । असारको अन्तिममा भुक्तानीको चटारोका बेला गाउँपालिकामै खुलेको बैंकमा खाता खोल्न र भुक्तानी लिन सजिलो भएको थियो ।

माडीमा बैंक स्थापना भएपछि पश्चिम भेगका गंगादेव, परिवर्तन गाउँपालिकालाई पनि सहज भएको छ । घर्तीगाउँमा ग्लोबल आईएमई बैंकले पनि शाखा स्थापनाको अन्तिम तयारी गरिसकेको छ ।

परिवर्तन गाउँपालिकालाई साना रकमको बैंकिङ कारोबारका लागि घर्तीगाउँ वा सदरमुकाम पुग्नुपर्ने अवस्था छैन। साउन १३ गते पुत्लाचौरमा जनता बैंक स्थापना भइसकेको छ । गाउँपालिका परिसरमै बैंक खुलेपछि गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी मात्र होइन त्यस भेगका सर्वसाधारण समेत खुसी भएका छन् ।

जिल्लाका एक नगरपालिका र नौ गाउँपालिकामध्ये सुनछहरी गाउँपालिकामा मात्र बैंक खुल्न बाँकी छ ।

प्रकाशित मिति : २७ भाद्र २०७५ बुधबार ००:००  २ : ०७ बजे