२ जेष्ठ २०८१, बुधबार | Wed May 15 2024

रेसुङ्गाका मेयर भन्छन्, समस्याका बीच धेरै उपलब्धी



शिवलाल सुवेदी, गुल्मी ।
गुल्मीको रेसुङ्गा नगरपालिका प्रमुख डिल्लीराज भुसालले समस्याका बीचमा पनि धेरै उपलब्धी भएको बताएका छन । नगरपालिकाले आर्थिक बर्ष ०७४÷०७५ मा गरेका महत्वपूर्ण कामहरु सार्वजनिक गदै भुसालले आफुले समस्याका विचमा पनि धेरै महत्वपूर्ण र उपलब्धीमुलक काम भएको बताएका हुन । नगरपालिकाले पत्रकार सम्मेलन जनप्रतिनिधीबिचको राजनैतिक बैरभावले काम गर्न सजिलो नभएको गुनासो समेत गरे ।
पत्रकार सम्मेलनमा नगरपालिकाले नगरभित्रका सबै वडा कार्यालय स्थापना, सुचना प्रविधीको पहुँच र वडाबाटै सेवा प्रवाह गर्नु, नगरपालिकाको कार्यालय तथा शाखागत व्यवस्थापनमा महत्वपूर्ण प्रगति भएको जानकारी दिए । साथै तम्घास बजारको सडक तथा प्याचिङ्ग कार्य थालनी, बजार क्षेत्रको सरसफाई तथा फोहोर व्यवस्थापन गर्न ट्याक्टर खरिद , पशुमा कृत्रिम गर्भाधान र भकारो तथा खोर सुधार कार्यक्रम लागु गरेको नगरपालिकाका प्रवक्ता पदम प्रसाद पाण्डेयले जानकारी दिए ।
त्यस्तै विभिन्न योजनाको मर्मत तथा निर्माणतर्फ १ सय ४९ वटा मोटरबाटो निर्माण तथा मर्मत, ३३ ढल निर्माण ३५ गोरेटो बाटो निर्माण, ८९ खानेपानी योजना मर्मत, २० सिँचाई योजना मर्मत तथा १ पक्की पुल निर्माण सम्पन्न गरेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
त्यस्तै आर्थिक वर्ष २०७४÷७५मा ४० लैङ्गीक तथा सामाजिक समावेशिकरणका कार्यक्रम सम्पन्न गरेको, २१ आयआर्जन तथा सिप विकास कार्यक्रम, ७० संस्कृति संरक्षणका क्षेत्रका काम भएका छन सम्मेलनमा मेयर भुसालले भने‘ २९ वटा सामुदायिक भवनको मर्मत सम्भार,१९ वटा वातावरण तथा सरसफाइका कार्यक्रम समेत नगरले गरेको छ ।’ मर्मत तथा निर्माणका योजना सम्पन्न गर्दा ९५% खर्च भएको नगरपालिकाका सुचना अधिकारी शंकर प्रसाद गौतमले बताए ।
नगरपालिकाले यस बर्ष कार्यान्वयनमा आउने महत्वपूर्ण योजनाहरु समेत सार्वजनिक गरेको छ । आ.व. २०७५÷७६ मा कार्यान्वयनमा एकीकृत नगर विकास योजना निर्माण, रेसुङ्गा पर्यटन क्षेत्र र तम्घास अस्पताल भवनको डिपिआर तयार, मजेङ्गखोला खानेपानीको निर्माण प्रारम्भ, पधेराथरी सेतीखोली लिफ्टिङ्ग खानेपानी निर्माण, व्यवस्थित ल्याण्डफिल्ड साइड निर्माणलाई निष्कर्षमा पुराउने, नगरपालिकाको निर्माणाधिन भवन निर्माणकार्य सम्पन्न गर्ने कार्यलाई मुख्य प्राथमिकतामा राखिएको छ ।
त्यस्तै ट्राफिक व्यवस्थापन, सरसफाई तथा फोहोेर मैलाको थप व्यवस्थापन गरी आय आर्जन व्यवस्थापन, तम्घास बजारको प्याचिङ्ग कार्य पूरा गर्ने, नगरपालिकाभित्र प्रशासनिक तथा विकासात्मक गतिविधिमा सहजीकरण गर्न समस्या समाधान समिति गठन गर्ने योजना नगरपालिकाका रहेको नगरपालिकाका मेयर डिल्लीराज भुसालले बताए ।
तम्घास बजार क्षेत्रभित्र र वडा कार्यालयमा फ्रि वाईफाईको व्यवस्था, मन्त्रालयको समन्वयमा रोजगार सूचना केन्द्र स्थापना, भूकम्प—पीडितको लागि निजी आवास निर्माण, नगरभित्रका सडकको स्तरोन्नति, कृषि तथा पशु विकास कार्यक्रमलाई पकेट क्षेत्रको रुपमा विस्तार तथा विविधीकरण, खेलकुद विकासको लागि रंगशाला निर्माण र खेलकुद आयोजना, विपद व्यवस्थापन केन्द्र स्थापना योजना नगरपालिकाको रहेको प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले बताए ।

प्रकाशित मिति : १० आश्विन २०७५ बुधबार ००:००  १ : ५३ बजे