८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

वाणगंगा माध्यमिक विद्यालयमा विविध कार्यक्रम



मायादेवी अनलाइन, कपिलवस्तु ।
वाणगंगा माध्यमिक विद्यालय गजेहडामा शुक्रबार अन्तराष्ट्रिय स्तरको शिक्षण सिकाई क्रियाकलाप संचालन गर्ने विधिका सम्बन्धमा अन्तक्रिया सम्पन्न भएको छ ।
आफ्नो फोहर आफै व्यवस्थापन गर्ने, घरका कुहिने र नकुहिने फोहर छुट्याउने र वरपरको वातावरण सफा राख्नको लागि विद्यालय र वरपर केकस्ता क्रियाकलाप गर्न सकिन्छ भन्नेबारे विद्यालयका प्रधानध्यापक रामप्रसाद भण्डारीले जानकारी दिनुभएको थियो । विद्यालयका आइसिटी संयोजक गोविन्द पोख्रेलको संचालनमा सम्पन्न कार्यक्रममा विद्यार्थीहरु विकास ढकाल र श्रृजना आचार्यले सहजीकरण गरेका थिए ।
यसैबीच विद्यालयमा शुक्रबार नै मधुवन एक धार्मिक स्थल भन्ने स्थानीय पाठ्यक्रम अन्तर्गत मधुवनलाई धार्मिक, सांस्कृतिक र पर्यावरणीय हिसाबले कसरी विकास गर्न सकिन्छ भन्नेबारे सहजीकरण कार्यक्रम पनि सम्पन्न भएको छ । सहजीकरणमा विद्यालयमा अध्ययनरत कक्षा ४ र पाँचका विद्यार्थीलाई २ घण्टा प्रशिक्षण दिइएको थियो ।
यस्तै विद्यालयमा साप्ताहिक कार्यक्रम अन्तरगत शुक्रबार नै म्युजिकल चेयर दौड सम्पन्न भएको छ । दौडमा कक्षा १ देखि १० सम्मका विद्यार्थीले सहभागिता जनाएका थिए । प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीलाई प्रअ भण्डारीले पुरस्कार प्रदान गर्नु भएको शिक्षक गोविन्द पोख्रेलले जानकारी दिनु भएको छ ।

प्रकाशित मिति : १३ आश्विन २०७५ शनिबार ००:००  ३ : ३१ बजे