१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

दाङमा एक हजारभन्दा बढी बालबालिका विद्यालय बाहिर



घोराही ।
दाङमा एक हजार ३५६ बालबालिका अझैं विद्यालय बाहिर रहेका छन् । सरकारले सामुदायिक विद्यालयका लागि अर्बौं रकम खर्च गरेको छ। विद्यालयमा बालबालिकालाई भर्ना गराउने अभियान पनि भइरहन्छ । सोहीअनुरुप भर्ना अभियानमा पनि लाखौँको खर्च हुने गरेको छ तर पनि बालबालिकाको आधारभूत र अनिवार्य मानिएको विद्यालय तहको शिक्षा अझै सबै बालबालिकाले प्राप्त गर्न सकेका छैनन् ।
जिल्लाको शिक्षा विकास तथा समन्वय एकाइले जिल्लामा अझै पनि दुई दशमलव आठ प्रतिशत अर्थात् एक हजार ३५६ बालबालिका विद्यालय बाहिर छन् । यो सङ्ख्या सम्बन्धित विद्यालय, विद्यार्थी एवं स्रोत व्यक्तिले टोल टोलमा पुगेर, सोधेर खोजेर तयार पारेको तथ्याङ्क हो । यसमा जिल्ला बाहिरबाट बाल मजदुरका रूपमा काम गर्न दाङका बजार, उद्योगमा आउने, घर छाडेर काममा अन्यत्रै जाने बालबालिकाको सङ्ख्या जोडिएको छैन । यी सबैलाई जोड्दा दाङमा विद्यालय बाहिर भएका बालबालिकाको सङ्ख्या दोब्बर हुन सक्ने अनुमान गरिएको छ ।
पाँच वर्षदेखि १६ वर्ष उमेर समूहका ७० बालबालिका उमेर पुगेर पनि विद्यालयको पहुँचमा आउन सकेका छैनन् भने तीन वर्षदेखि पाँच वर्ष उमेरका २८५ बालबालिका विद्यालयमा आउन सकेका छैनन् । यस्तै बीचैमा विद्यालय छाड्ने बालबालिकाको सङ्ख्या एक हजार एक छ । अहिले दाङको घोराही, तुलसीपुर, लमही, भालुवाङ, नारायणपुरजस्ता स्थानमा बाक्लो बजार विस्तार हुँदैछ । जहाँका होटल, रेष्टुराँ, साना उद्योग, फर्निचरमा धेरै बालबालिका मजदूरका रूपमा काम गरिरहेका छन् ।
जसका कारण बालबालिका नियमित विद्यालय जान पाएका छैनन् र बीचैमा नै विद्यालय छोड्न बाध्य छन् । जिल्ला शिक्षा समन्वय एकाइका सूचना अधिकारी देवमणि चौधरीका अनुसार परिवारको चेतनास्तरकै कारण बालबालिका विद्यालयबाहिर रहेको बताए। स्रोत व्यक्ति, विद्यालयका प्रअ, शिक्षक र त्यहाँ अध्ययनरत विद्यार्थीले पनि बालबालिकालाई विद्यालय ल्याउनका लागि विभिन्न अभियान सञ्चालन गरेका छन् तर अभिभावकले विद्यालय भर्ना गर्न नमान्दा धेरै बालबालिका विद्यालय बाहिर भएको उनको भनाइ छ । (रासस)

प्रकाशित मिति : १३ आश्विन २०७५ शनिबार ००:००  ९ : २८ बजे