४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

वाणगंगाले १५ बर्षे गुरुयोजना बनाउँदै, होला त देशकै समृद्ध नगरपालिका ?



मायादेवी अनलाइन, वाणगंगा ।
वाणगंगा नगरपालिकाले १५ बर्षे गुरुयोजना बनाएर नगरको विकास गर्ने भएको छ । दुई दिन सम्म सञ्चालन भएको एकिकृत शहरी विकास योजना तर्जुमा गोष्ठिबाट १५ बर्षे गुरुयोजना बनाएको हो । शहरी विकास तथा भवन निर्माण विभागको सहकार्य र वाणगंगा नगरपालिकाको आयोजनामा सो गोष्ठि चार नम्बरमा भएको थियो । गोष्ठिबाट वाणगंगा नगरपालिकाले नगरपालिकाको ५ बर्ष देखि १५ बर्षे अल्पकालिन तथा दीर्घकालीन योजना बनाएको छ ।
यस्तै नगरपालिकाले औद्योगिक क्षेत्र पनि तय गरेको छ । वाणगंगा नदीलाई तटबन्ध गर्दै नदी आसपासका क्षेत्रलाई औद्योगिक क्षेत्रको रुपमा विकास गर्ने योजना रहेको नगरपालिकाका प्रबक्ता विष्णु पौडेलले बताउनुभयो ।
यस्तै नगरपालिकाको प्रमुख व्यापारीक केन्द्रका रुपमा रहेका चारनम्बर, पिपरा बैरिया, वोर्डगाँउ, बनगाई, गजेहडा र ओदारी बजार क्षेत्रका ५ सय मिटर आसपासलाई व्यापारीक केन्द्र बनाउने योजना अगाडी सारिएको छ ।
यसैगरी नगरका पर्यटकीय क्षेत्रका रुपमा नन्दनगर, मधुवन, कपिलधाम, लक्ष्मणघाट र राजापानीलाई विकास गरिने छ । यस्तै नगर भित्रका सडकलाई पनि नगरपालिकाले मापदण्ड तोकेको छ । जस अन्तर्रगत सहायक राजमार्ग, भित्रि सडकको चौडाईको विभिन्न मापदण्ड तय गरेको छ ।
नगरपालिकाले बनाएको गुरुयोजना अनुसार काम गर्न सके अबको १५ बर्ष भित्र वाणगंगा नगरपालिका देशकै नमुना नगरपालिका बन्ने नगरपालिकाका मेयर मंगल प्रसाद थारुले विश्वास व्यक्त गर्नुभयो ।

प्रकाशित मिति : १७ आश्विन २०७५ बुधबार ००:००  ३ : १५ बजे