१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

चिनिया लगानी भित्त्राउन सांसद पन्थी सहितको टोली चीन प्रस्थान



मायादेवी अनलाइन, कपिलवस्तु ।
प्रदेश ५ का प्रदेश सांसद विष्णु पन्थी लगायतको टोली विहीबार एक हप्ते चीन भ्रमणका लागि त्यस तर्फ प्रस्थान गरेको छ । चिनिया लगानी कपिलवस्तु सहीतका बुद्धस्थलमा भित्त्राउन लामो समय देखि प्रयास गरिरहनुभएका सांसद पन्थी सहितको टोली चिन भ्रमणमा निस्किएको हो । भ्रमणको बेला प्रदेश ५ को लुम्बिनी र प्राचिन कपिलवस्तुको विकासको बारेमा छलफल हुने भ्रमण टोलीले जनाएको छ ।
चिनिया लगानीकर्ता तथा पर्यटन व्यवसायी संग छलफलका लागि चिन भ्रमणमा निस्किएको सांसद विष्णु पन्थीले जानकारी दिनुभयो । साथै भ्रमणमा नेपालमा एफडिआइ (फरेन डाइरेक्ट इनभेसमेन्ट) भित्र्याउने नीति तथा प्रक्रियाको बारेमा जानकारी दिने, लगानीका अवसर र क्षेत्रहरू, प्राचीन कपिलवस्तुको महत्व, नेपालको विकास र आवश्यकता आदिका विषयमाथि छलफल हुने उहाले बताउनुभयो ।
संघीयता पछिको प्रदेश सहितको शासन ब्यवस्था, त्यसका विकासको बारेमा पनि छलफल हुने छ । यस्तै छलफलमा भैरहवामा निकट भविष्यमा संचालनमा आउदै गरेको अन्तराष्ट्रिय एयरपोर्ट र त्यसले नेपाल तथा चीनमा ल्याउने अवसरका बारेमा पनि कुराकानी हुने सांसद पन्थीले बताउनुभयो ।
एकातिर चीन अहिले दुनियाँको सबैभन्दा ठुलो लगानी कर्ता हो र अर्कोतर्फ बिदेशी पर्यटकको समेत ठुलो स्रोत हो । चिनबाट बिश्व दुनियाँमा भ्रमणको लागी वार्षिक नेपालको समुचा जनसंख्याको करिब दश गुणा बढी पर्यटकहरु चीनबाट बाहिर निस्कन्छन् । यी धेरै कारणले गर्दा धनी छिमेकीको फाइदा लिन नेपालका सरकार तथा निजि क्षेत्रले महत्वको साथ ध्यान दिनुपर्छ भन्ने कुरा सप्ताह ब्यापी भ्रमणमा निस्कदै गर्दा सांसद पन्थीले मायादेवी अनलाइलाई बताउनुभयो ।
भ्रमण तालिका अनुसार चिनको राजधानी बेइजिङ्गको नेपाली दूतावास संग भेटघाट र औद्योगिक तथा ब्यापारिक सहर शांघाइमा विविध विषयमा छुट्टाछुट्टै भेटघाट गर्ने कार्यक्रम छ । भ्रमण टोली कार्तिक २ गते स्वदेश फर्कने छ । भ्रमणमा निस्कदै गर्दा सांसद पन्थीले आउदै गरेको विजयादशमीको अवसरमा सम्पूर्ण कपिलवस्तुबासी लगायत देश तथा विदेशमा रहनुभएका नेपालीहरुलाई शुभकामना पनि दिनुभएको छ ।

प्रकाशित मिति : २५ आश्विन २०७५ बिहिबार ००:००  २ : ४७ बजे