२ जेष्ठ २०८१, बुधबार | Thu May 16 2024

स्थानीय तहबाट दशैँ बजार अनुगमन



परासी ।
पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले दशैँका अवसरमा पहिलोपटक बजार अनुगमन गरेको छ । यसअघि जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा बजार अनुगमन हुँदै आएकामा स्थानीय तहबाटै बजार अनुगमन गर्न निर्दे्शिका बनेपछि अनुगमन भएको हो ।

अनुगमन क्रममा रामग्राम नगरपालिकाकी उपप्रमुख रम्भा कुँवर आफैँ सदरमुकाम परासी बजारमा निस्कनुभएको थियो । स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले स्थानीय तहका उपप्रमुखलाई बजार अनुगमनको संयोजकको जिम्मेवारी दिएको छ ।

नगरपालिकाले परासी बजारका ३० वटा विभिन्न प्रकृतिका पसलमा अनुगमन गरेको छ ।
अनुगमनको क्रममा अधिकांश मासु पसल मापदण्ड विपरीत सञ्चालनमा रहेको पाइएको छ । अधिकांश मासु पसलले आफ्नै घरबाट मासु काटेर पसलमा ल्याएर बेच्ने, सरसफाइमा ध्यान नदिने गरेको भेटिएको थियो ।
खशीको मासु भनेर बाख्रीको मासु बेचिरहेको भेटिएकाले घरमै मासु काटेर बेच्नु शङ्कास्पद भएकोले अबदेखि व्यवस्थित बधशालामै काटेर मासु बेच्न निर्देशन दिइएको उपप्रमुख कुँवरले बताउनुभयो ।

यसैगरी किराना, होटल तथा मिठाई पसलमा म्याद नागेका पेय पदार्थ, लेभल नभएका वस्तु बिक्री वितरण भइरहेको भेटिएपछि अनुगमन समितिले जफत गरी त्यस्ता वस्तु नष्ट गरेको छ भने आइन्दा फेरि यस्तो लापर्वाही दोहोरिए कारवाही प्रक्रिया अगाडि बढाउने चेतावनी दिइएको छ ।
उपभोक्ता हित संरक्षण मञ्चका जिल्ला अध्यक्ष रामजी ज्ञवालीले देखावटी अनुगमनभन्दा विज्ञ सहित प्रभावकारी बजार अनुगमन हुनुपर्ने माग गर्नुभयो । (रासस)

प्रकाशित मिति : १ कार्तिक २०७५ बिहिबार ००:००  १ : ०० बजे