४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

तिलोत्तमामा बन्ने भयो औद्योगिक ग्राम, जग्गा पनि खोजियो



बुटवल ।
तिलोत्तमा नगरपालिकाले औद्योगिक ग्राम स्थापनाको पहल थालेको छ । चालू आर्थिक वर्षमा मुलुकका १४० स्थानीय तहमा औद्योगिक ग्राम स्थापना गर्ने संघीय सरकारको लक्ष्य छ ।
संघीय सरकारको लक्ष्यलाई साथ दिँदै तिलोत्तमा नगरपालिकाले चालू आर्थिक वर्षको बजेटमा औद्योगिक ग्राम स्थापनाको लागि वजेट समेत छुट्टाएको छ ।
नगरमा साना तथा घरेलु उद्योग स्थापनाका लागि उचित वातावरणको व्यवस्थापन गर्न वडा नं. १० मा ‘तिलोत्तमा औद्योगिक ग्राम’ स्थापनको तयारी थालिएको हो ।
रोहिणी नदी पुलसँगै जोडिएको उत्तर तर्फको क्षेत्रमा औद्योगिक ग्राम स्थापना गर्नको लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको नगर प्रमुख बासुदेव घिमिरेले जानकारी दिनुभयो ।
नगरपालिकाले प्रस्ताव गरेको जग्गाको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट आएको टोलीले निरीक्षण समेत गरेको छ ।
मन्त्रालयको टोलीमा सहभागी विज्ञ लक्ष्मण भट्टराईले नगरपालिकाले अघि सारेको जग्गा औद्योगिक ग्रामका लागि उपर्युक्त रहेको बताएका छन् ।
औद्योगिक ग्रामको अवधारणा साना उद्योगहरुका लागि हो । साउन दोस्रो साता रुपन्देही आएको टोलीले सो क्षेत्रको अवलोकन र निरीक्षण गरेको थियो । सडक तथा विद्युत्को पहुँच रहेको सो स्थान रोहिणी नदीको उकास क्षेत्र हो । -पत्रकार टोपराज शर्माबाट

प्रकाशित मिति : ४ कार्तिक २०७५ आइतबार ००:००  २ : ५४ बजे