१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

शिवराजमा ट्राफिकको छड्के अनुगमन, परे अटो रिक्सा चालक फसादमा !



अराज सिंह बेल्वासे, चन्द्रौटा ।
अब्यवस्थित भएको गुनासो आए पछि शिबराज नगरपालिकामा रहेका अटो रिक्साहरुको ट्राफिक प्रहरी कार्यलय चन्द्रौटाले छड्के अनुगमन गरेको छ । तीव्र गतिमा हिड्ने, मनपरी भाडा लिने गरेको गुनासो आए पछि गरिएको अनुगमनमा ६० वटा अटोहरुको चेक जाँच गर्दा अधिकांस अटोहरु तोकिए भन्दा बढी यात्रु लिएर हिड्ने गरेको पाइएको छ ।
चालक सहित ४ जना बोक्न पाउने अटो रिक्साको नियम भएपनि ८ जना सम्म सवारी बोक्ने गरेको पाइएको अस्थाई ट्राफिक प्रहरी पोस्ट चन्द्रौटाका प्रमुख प्रहरी सहायक निरिक्षक रामशरण कुमालले जानकारी दिनुभयो ।
चेकजाँच गर्दा एउटै अटोमा १८ जना सम्म बिद्यार्थी बोक्ने गरेको भेटिएको थियो । शिबराज नगरपालिकामा रहेका अधिकांश अटोहरु लाइसन्स बिना नै सञ्चालन भएको पाइएको छ । ५० वटा अटो चेक गर्दा ३५ वटा अटो लाइसेन्स नभएको भेटिएको छ भने क्षमता भन्दा बढी बोक्ने ९ वटा कुनै प्रकारको कागज पत्र नहुने ७ वटा अटोलाई कारवाही गरिएको कुमालले जानकारी दिनुभयो ।
पहिलो पटक नियमको बारेमा जानकारी दिएर सम्झाई बुझाई पठाएको र फेरी पनि ओभरलोड बोक्ने तीव्र गतिमा हिड्ने, कागजपत्र नबोक्ने अटोलाई कारवाही गर्ने उहाँले बताउनुभयो । लाइसेन्सको बारेमा भने केही सँग लाइसेन्स भएको, केहीले परिक्षा दिएर बसेको र अन्यको लाइसेन्स नभएकोले सबैलाई लाइसेन्सको प्रकृयामा ल्याउने प्रयास भइरहेको बताउदै समय समयमा यसरी नै छड्के चेकजाँच गर्ने कुमालले बताउनुभयो ।

प्रकाशित मिति : ९ पुस २०७५ सोमबार ००:००  ७ : २१ बजे