२४ बैशाख २०८१, सोमबार | Mon May 6 2024

विद्यार्थी पढाउँदै मुख्यमन्त्री !



दाङ ।

बिहान १० बजेको थियो । अन्य दिनजस्तै आज पनि तुलसीपुर उपमहानगरपालिका–७ मा रहेको मावि कालाखोलाका विद्यार्थी प्रार्थना गरिरहेका थिए । त्यतिबेला प्रदेश नं– ५ का मुख्यमन्त्री शङ्कर पोखरेल, प्रदेशसभा सदस्य उत्तरकुमार वली, तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेलगायत अन्य अतिथि विद्यालयमा पुग्नुभयो ।

विद्यार्थी प्रार्थना गरिरहेकै बेला औपचारिक कार्यक्रमको आयोजना गरियो । अनि शुरु भयो प्रदेश नं ५ को कार्यक्रम ‘विद्यालयमा एक दिन÷ कक्षा कोठामा एक दिन ।’

औपचारिक कार्यक्रम पश्चात मुख्यमन्त्री पोखरेलले कक्षा १० ‘ए’मा पढाउन शुरु गर्नुभयो भने तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले कक्षा १० को ‘बि’ र प्रदेशसभा सदस्य उत्तर कुमार वलीले कक्षा ८ मा पढाएर उक्त कार्यक्रमको उद्घाटन गरियो । उहाँहरुले करीब ९० मिनेट विद्यार्थीलाई पढाउनुभएको थियो ।

प्रदेश सरकारले स्थानीय सरकारसँग समन्वय गरेर विद्यालय र समुदायको सम्बन्धलाई थप समधुर बनाउन बनाएको योजना अनुसार प्रदेश नं ५ मै पहिलो पटक तुलसीपुर उपमहानगरपालिकाबाट उक्त कार्यक्रमको शुरुआत भएको हो ।

सोही अनुसार अब विद्यालयमा सबै अभिभावक वर्षमा एक दिन विद्यालय आउने कार्यक्रमको शुरुआत भएको मुख्यमन्त्री शङ्कर पोख्रेलले बताउनुभयो ।

यसरी अभिभावकले सामुदायिक विद्यालयमा आएर लगानी गरेमा सामुदायिक विद्यालयप्रति आकर्षण बढाउन सकिने उहाँको भनाइ थियो ।

समुदायले नै निर्माण गरेका सामुदायिक विद्यालयमा अभिभावकको लगाव घट्दै गइरहेको भन्दै त्यसलाई जोड्न यो कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने मुख्यमन्त्री पोखरेलको भनाइ थियो । तुलसीपुर उपमहानगरपालिकाबाट शुरु भएको भन्दै यो अभियान प्रदेशका सबै सामुदायिक विद्यालयमा पु¥याइने मुख्यमन्त्री पोख्रेलले बताउनुभयो ।

सामुदायिक विद्यालयको स्रोतसाधन धेरै भए पनि निजी विद्यालयपं्रति अभिभावक र विद्यार्थीको आकर्षण बढेको भन्दै सामुदायिक विद्यालयमा विद्यार्थीलाईं आकर्षणको केन्द्र बनाउनुपर्ने समेत मुख्यमन्त्री पोख्रेलको भनाइ थियो ।

उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले शिक्षाको गुणस्तरीय वृद्धि गर्न यो कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । विद्यार्थीको कमी भएका विद्यालयमा सङ्ख्या बढाउने उहाँको भनाइ थियो । नगरप्रमुख पाण्डेले तुलसीपुरका सबै विद्यालयलाई नमूना र सबै विद्यार्थीलाई सक्षम बनाउने बताउनुभयो ।

प्रकाशित मिति : १६ पुस २०७५ सोमबार ००:००  १२ : ०७ बजे