३० भाद्र २०८१, आइतबार | Mon Sep 16 2024

प्रदेश ५ मन्त्री परिषदको निर्णय : माघ १ र २ गते सार्वजनिक विदा



बुटबल ।
प्रदेश ५ मा माघ १ र २ गते सार्वजनिक विदा हुने भएको छ । माघी पर्वको अवसरमा प्रदेश ५ सरकारले उक्त २ दिन विदा दिने निर्णय गरेपछि पठनपाठन बन्द हुने भएको हो । माघीकै अवसर पारेर पुष ३० गते चियापान कार्यक्रमको आयोजना गर्ने भएको छ । प्रदेश सरकारको आज बसेको बैठकले प्रदेश ५ थारु र मगर समुदायको बाहुल्यता रहेकाले दुई दिन विदाको निर्णय गरेको हो ।
राष्ट्रिय विदा कटौती भएको र अन्य प्रदेशले पनि समुदायको बाहुल्यताका आधारमा विदा दिंदै आएकाले प्रदेश ५ ले दुवै समुदायको माग सम्बोधन हुने गरी दुई दिन विदा दिने र अघिल्लो दिन चियापान कार्यक्रम गर्दै शुभकामना आदानप्रदान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले बताउनु भयो । सरकारले प्रदेशमा रहेका स्वास्थ्य संस्थाको नाम परिवर्तन गर्ने निर्णय पनि गरेको छ ।सामाजिक विकास मन्त्रालयको प्रस्तावमा प्रदेशमा रहेका लुम्बिनी, भेरी र राप्ती अञ्चल अस्पताल अब प्रादेशिक अस्पतालमा रुपान्तरण भएका छन ।
त्यस्तै दाङमा रहेको मध्यपश्चिम क्षेत्रीय आयूर्वेद अस्पताललाई राप्ती प्रादेशिक आयूर्वेद अस्पताल बनाईएको छ । लुम्बिनी अञ्चल आयूर्वेद अस्पताललाई लुम्बिनी आयूर्वेद अस्पताल बनाईएको छ । संविधानमा अञ्चलको व्यवस्था हटेकाले अञ्चल संग जोडिएर संचालनमा रहेका सबै अस्पताललाई प्रदेशिक अस्पतालमा रुपान्तरण गरिएको सामाजिक विकास मन्त्री सुदर्शन बरालले बताउनु भयो । मन्त्रीपरिषदले विभिन्न मन्त्रालयले पेश गरेका ८ विधेयक प्रदेश सभामा पेश गर्न स्वीकृती दिएको छ ।

प्रकाशित मिति : १७ पुस २०७५ मंगलबार ००:००  ४ : ४० बजे