२३ बैशाख २०८१, आइतबार | Mon May 6 2024

‘प्रदेशबाट श्रम स्विकृति’ स्वागतयोग्य



मायादेवी अनलाइन ।
लामो प्रतिक्षा र रस्साकस्सी पछि वैदेशिक रोजगारीको लागि लिइने श्रम स्विकृतिको काम अब प्रदेशबाट नै दिन सुरु गरिएको छ । काठमाडौंबाट मात्रै दिइने श्रम स्विकृती सरकारले यही पौष १५ गतेबाट पहिलोपटक प्रदेश सरकार मातहतबाट दिन सुरु गरेपछि यसले आम सबैमा खुसीको संचार गरेको छ । ५ नम्बर प्रदेशको राजधानी बुटवल र २ नम्बर प्रदेशको राजधानी जनकपुरबाट श्रम स्विकृती लगायतका काम गर्ने गरी कार्यालय सञ्चालनमा ल्याइएको छ । जुनै निकै निकै सुखद र स्वागतयोग्य कुरा हो । जनकपुर र बुटवलमा रहेका प्रदेशगत श्रम तथा रोजगार कार्यालयमा वैदेशिक रोजगार इकाइ गठन गरि अब यो सेवा दिने छन् । संघीयताको मर्मअनुरुप नै काठमाडौंमा केन्द्रीकृत गरिएको सेवालाई प्रदेशसम्म झार्नु निकै राम्रो र स्वागतयोग्य काम हो ।
प्रदेश नम्बर ५ धेरै विदेश जानेमध्ये तेस्रो स्थानमा छ । पहिलो जनकपुर क्षेत्र, दोस्रो हेटौडा क्षेत्र र तेस्रो बुटवल क्षेत्र हो । श्रम स्विकृतिका लागि बुटवलमा दैनिक डेढ सयदेखि दुई सय सेवाग्राही आउने अपेक्षा गरिएको छ । बुटवलबाट श्रम स्विकृति दिन शुरु भएसंगै नारायणी पश्चिमका सर्वसाधारणहरुले सेवा लिनेछन् । अहिले श्रम स्विकृतिका लागि काठमाण्डौं नै जानुपर्ने बाध्यता छ । काठमाडौंबाट मासिक २० हजारले श्रम स्विकृति लिने गरेको तथ्यांक छ ।
श्रम स्वीकृतिका लागि काठमाडौं धाउन नपर्ने अनुमति पहिलो चरणमै प्रदेश ५ को बुटवलले पाउनुलाई प्रदेशबासीले पर्वकै रुपमा लिएका छन् । यो सुविधा आएसंगै कपिलवस्तु, रुपन्देही, पाल्पा, नवलपरासी, गुल्मी, बाग्लुङ, अर्घाखाँची, प्युठान बाँके र त्यस पश्चिमका सर्वसाधारणलाई वैदेशिक रोजगारीको लागि श्रम स्विकृतिकै लागि अब राजधानी धाउनै पर्ने बाध्यता टरेको छ । प्रदेश कार्यालयले श्रम स्विकृती दिएपछि मेनपावर कार्यालयहरु पनि प्रदेशमा जानुपर्ने दवाव आएको छ । कामदारले जिल्लाबाट पासपोर्ट बनाउने र आफुलाई पाएक पर्ने देशको लागि भिसा प्रक्रिया सुरु गर्न सक्छन् । मेडिकल चेकजाँचको काम पनि प्रदेशबाटै भएपछि कामदारले अब विदेश जाँदा उड्नको लागि मात्र काठमाडौँ जानुपर्नेछ ।
यस्तै प्रारम्भिक चरणमा यी कार्यालयहरुबाट पुनः श्रम स्वीकृति प्रदान, वैदेशिक रोजगारी सम्बन्धी इजाजत पाएका संस्थाहरु र तालिम एवं अभिमुखिकरण संस्थाहरुको अनुगमन गर्ने, सरोकारवालाहरु बीच वैदेशिक रोजगारीको सूचना तथा जानकारी सम्प्रेषण गर्ने एवं गुनासो सुनुवाई गरी सेवा प्रवाहलाई सहजीकरण गर्ने जस्ता राजधानी केन्द्रित काम अब प्रदेशका ती कार्यालयहरुबाट हुने भएपछि धेरै सजिलो हुने सबैको अपेक्षा छ ।
यस्तै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत रहेको श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग मातहतको सो श्रम तथा रोजगार कार्यालयले सेवा प्रदान गर्न थालेपछि यस क्षेत्रका सेवाग्राहीहरु प्रत्यक्ष लाभान्वित हुने छन् । एक महिना भित्रमा श्रम स्वीकृति सम्बन्धी सबै कामका साथै व्यक्तिगत रुपमा विदेश जादा चाहिने अनुमति दिने व्यवस्था प्रदेशबाटै मिलाइए पछि विदेश जान चाहानेलाई धेरै सजिलो हुने छ ।
वैदेशिक रोजगार विभाग कार्यालयका अनुसार प्रदेश पाँचका १२ वटा जिल्लाका साथै अन्य पायक पर्ने जिल्लाका मानिसले पनि सो कार्यालयबाट श्रम स्वीकृति लगाएतका सेवा लिन सक्ने भएकाले यसले धेरै विदेश जानेहरुलाई राहत दिने विश्वास गरिएको छ । यो सुविधा आएसंगै बिदेश पुगेर घर आएका र पुनः फर्किन चाहनेहरुले त्यहीबाट पनि पुनः श्रम स्वीकृति लिन सक्ने छन् ।
नेपालले वैदेशिक रोजगारका लागि खुल्ला गरेका ११० राष्ट्र मध्ये सबै भन्दा बढी कतार र दोस्रोमा साउदी अरबबाट बिदामा धेरै युवा आउने गरेका छन । काठमाण्डौं बाहिर स्विकृति दिने व्यवस्था भए यी युवाहरुले सहजता पाउनेछन । भैरहवामा बिमानस्थल निर्माण सकिन साथ अन्र्तराष्ट्रिय उडान भए बैदेशिक रोजगारमा जाने पश्चिम क्षेत्रका युवालाई काठमाण्डौं जानुपर्ने बाध्यता हट्नेछ । यसको लागि कर्मचारीहरुले टेरेर काम गर्न जरुरी छ ।
हाल सरकारले काठमाडौंको ताहाचल स्थित वैदेशिक रोजगार विभागको कार्यालयबाट मात्र श्रम स्वीकृति दिँदै आएको छ । ताहाचलमा श्रम इजाजत लिन अत्यधिक भिड लाग्दा ठूलो सास्ती हुने गरेको थियो । त्यसैले वैदेशिक रोजगारीसँग सम्बन्धित सेवाहरुलाई विकेन्द्रीत गरी सरल र सहज बनाउन प्रदेशस्तरबाटै श्रम स्वीकृति प्रदान गर्ने गरी ल्याइएको यो योजना केवल कागजमा मात्र सिमित हुन हुँदैन । वास्तविक रुपमा प्रभावकारी काम भएको खण्डमा मात्र जनताले मुलुक संघियतामा गएको अनुभूति पाउने छन् ।
बुटवलले जस्तै प्रदेश नम्बर २ को जनकपुरले पनि स्विकृति पाएको छ । यो पनि त्यस क्षेत्रका जनताको लागि निकै खुसीको कुरा हो । यस्तै गण्डकी प्रदेशको मूकाम पोखरामा लगभग तयारी सकिएको खबर छ । यो प्रकृया पनि चाँडै टंगिनु पर्ने छ । यसैगरी एकएक गरी सरकारले अरु ५ प्रदेशका मुकामबाट पनि यस्तै कामको सुरुवात गर्नुपर्दछ । तब मात्र प्रदेश सरकारको काम भएन भनी हाँको हाल्दै हिड्नेहरुको पनि मुखमा माड लाग्थ्यो कि ?

प्रकाशित मिति : २२ पुस २०७५ आइतबार ००:००  ४ : ०२ बजे