२३ बैशाख २०८१, आइतबार | Mon May 6 2024

क्रिकेट उपलब्धि संस्थागत गर्न लगानी बढाऊ



मायादेवी अनलाइन ।
एक दिवसीय क्रिकेटमा नेपालले सोमबार इतिहास रचेको छ । ३० बर्षपछि पाएको एकदिवसीय मान्यताको उपलब्धिलाई रक्षा गर्दै नेपालले युएइविरुद्ध जित मात्र निकालेन पहिलो एक दिवसीय सिरिजको उपाधि रक्षा गरी सारा नेपालीलाई खुसी तुल्यायो । यो जितमा कप्तान पारस खड्काले कीर्तिमानी शतक बनाए । सोमबार दुबईस्थित आइसिसी एकेडेमीमा भएको तेस्रो तथा निर्णायक खेलमा नेपालले यूएईलाई ४ विकेटले पराजित गर्ने क्रममा उनले १ सय १५ रनको कप्तानी पारी खेले । पहिलो खेलमा युएई ७ विकेटले विजयी भएकोमा दोस्रो खेलमा नेपालले १ सय ४५ रनको जित निकाल्दै विजयी भयो । तेश्रो तथा अन्तिम खेलमा भने नेपालले ४ विकेटले युएइलाई हराउँदै सिरिज २–१ ले आफ्नो पक्षमा पार्यो । नेपालले पाएको यो इतिहासलाई हेरेर हामी मख्ख मात्र पर्ने होइन । अब क्रिकेटको विकासको लागि लगानीमा गम्भिर भएर सोच्नु पर्दछ । र, क्रिकेटमा लगानी बढाउनु पर्दछ ।
क्रिकेट इतिहासलाई पछाडि फर्केर हेर्दा राणाकालमा नितान्त व्यक्तिगत सोखका रूपमा रोलवाला जर्नेल मदनशमशेरले क्रिकेटलाई नेपाल भित्र्याएका थिए भने क्लबस्तरीय नियमित प्रतियोगिताका रूपमा क्रिकेटले २०३० सालपछि मात्र मान्यता पाउन थालेको थियो । व्यक्तिगत पहल र सोखका रूपमा विकसित क्रिकेटको विकासक्रमलाई नियाल्दा २०३० साललाई आधार मान्दा पनि नेपालले प्राप्त गरेको यस उपलब्धिका लागि झन्डै ४० वर्ष कुर्नुपरेको छ । ढिलै भए पनि यस उपलब्धिले नेपाली क्रिकेट खेलाडी, शुभचिन्तक लगायत यसका प्रशंसकहरूलाई सुखद अनुभूति हुनु स्वाभाविकै हो । अन्तर्राष्ट्रिय खेल मञ्चमा राष्ट्रिय गरिमा र पहिचान कायम राख्न उनीहरूले गरेको यस सत्प्रयास साँच्चिकै सराहनीय छ र यसका लागि उनीहरू बधाईका सच्चा पात्र पनि हुन् । जित मात्र नभएर नेपालले केही किर्तिमानी पनि बनाएका छन् । अब यसलाई संस्थागत गर्नको लागि नेपालमा भौतिक पूर्वाधारको विकास गर्न जरुरी छ ।
क्रिकेट खेलाडी लगायतकाले प्राप्त गरेको यस सफलता जति सुखानुभूतियुक्त छ त्यति नै यस सफलतालाई कायम राख्न चुनौतीपूर्ण छ । खेलमा प्राप्त हुने सफलताका लागि अनुशासन, गतिशीलता, मेहनतको आवश्यकतासँगै यसलाई सञ्चालन गर्ने लगानी, उत्प्रेरणा, अवसर र निरन्तरताका लागि पनि सम्बन्धित पक्षले अविच्छिन्न ध्यान पु¥याउनु आवश्यक छ । यसको पहिलो जिम्मेवारी भनेको सरकारकै हो । कुनै पनि खेलको विकास गर्न उपयुक्त वातावरणको निर्माण गर्ने दायित्वबाट सरकार पन्छिन मिल्दैन । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा सफलता प्राप्त गर्न सकिने क्रिकेटजस्ता खेलहरूको पहिचान, विकास, प्रवद्र्धन र अवसरहरूबाट सम्बन्धित पक्षमात्र होइन, समग्र राष्ट्र नै लाभान्वित हुन सक्छ । हालसम्मको सरकारको लगानीका प्राथमिकताका खेलक्षेत्र पर्न नै सकेको छैन, अझ त्यसमा पनि क्रिकेटमा गरिएको लगानीको अनुपात निकै सानो देखिन्छ । साँच्चै भन्ने हो भने कम लगानी, अपर्याप्त पूर्वाधार हुँदाहुँदै नेपाली क्रिकेट खेलाडीहरूले विश्वकपसम्म पुगेर राष्ट्रकै लागि शिर उँचो पार्ने काम गरेका छन् । विश्वका शीर्ष स्थानमा पर्ने नेपालका दुई छिमेकी राष्ट्रहरू भारत र पाकिस्तानमा राज्यले क्रिकेटमा गरेको लगानी र निजी क्षेत्रले दिएको प्रोत्साहनलाई हेर्दा हाम्रो पूर्वाधार र लगानी त्यहाँका गल्ली क्रिकेटभन्दा माथि उठ्न सकेको देखिँदैन ।
यसर्थ सरकारले आफ्नो परम्परागत अवधारणामा परिवर्तन गर्दै खेलको विकासमा गरिने लगानीबाट मुलुकको आर्थिक विकासको अन्य सम्भावनाहरूलाई पहिल्याउन प्रयत्न गर्नुपर्छ । मौसमी विविधतासँगै भौगोलिक बनावटले पनि नेपाल खेलकुदको महत्वपूर्ण हब बन्न सक्ने र यसबाट पर्याप्त पर्यटकीय, सेवामूलक र औद्योगिक उत्पादनको फाइदा लिन सकिने अवसरलाई सरकारले चुक्न दिनु हुँदैन । दुई विशाल छिमेकी भारत र चीनबीच अवस्थित मुलुक पनि भएकाले नेपालले छिमेकी मुलुकका साझा खेलका लागि उपयुक्त अवसर मात्रै प्रदान गर्ने हो भने पर्यटन र खेलकुदको विकासमा नयाँ–नयाँ उपलब्धि प्राप्त गर्न सक्नेमा कुनै शंका छैन ।
अब खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्ले आईसीसी क्रिकेट प्रतियोगिताका सफल सबै खेलाडीलाई प्रोत्साहनको लागि नगद प्रदान गर्न सक्नुपर्दछ तर, परिषद्ले यस सिफारिससँगै खेलाडीहरूको क्षमता, अनुशासन, प्रविधि, संरचनाको विकासलगायतका विषयमा अल्पकालीन र दीर्घकालीन योजना समेत प्रस्तुत गर्न सकेको भए बढी प्रभावकारी र सान्दर्भिक हुने थियो । देशभित्र कम्तीमा पनि अब ३ देखि ५ वटा सुविधासम्पन्न क्रिकेट स्टेडियमहरू निर्माण गर्नका लागि राष्ट्रिय खेलकुद परिषद्, नेपाल क्रिकेट एसोसियसनले सरकारसमक्ष दबाब दिनु आवश्यक भइसकेको छ भने सरकारले प्रत्येक प्रदेशमा कम्तिमा पनि एकएक वटा एकएक वटा रंगशाला बनाउने योजना अगाडी सार्नु अनिवार्य छ । अहिले भईरहेका पिपिएल, एपिएल, डिपिएल जस्ता लिगहरु प्रत्येक प्रदेशमा हुनुपर्दछ । यति मूलपानीमा बनाउन लागि क्रिकेट स्टेडियमलाई अन्तर्राष्ट्रिय स्तरको बनाउनका लागि पनि पहल हुनुपर्छ, ताकि अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिताहरू आयोजना गर्न सकियोस् ।

प्रकाशित मिति : १७ माघ २०७५ बिहिबार ००:००  ३ : ०८ बजे